डोल्पामा खाद्यन्नको मुल्यभन्दा ढुवानी महंगो

डोल्पा, २९ मंसिर (जागरण) । डोल्पाको माथिल्लो भेगमा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्दा नागरिकहरु मारमा परेका छन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार माथिल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पछ ।
सालदाङमा प्रतिक्विन्टल जिरा मसिनो मूल्य ७ हजार, मोटा ५ हजार र सोना मन्सुली ५ हजार ६ सय रूपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।
सुर्खेतदेखि धोसम्मको चामल ढुवानी भाडा प्रतिकेजी ६५ रूपैयाँ, धारगाउँ ५६ रूपैयाँ र सालदाङमा ९० रूपैयाँ ढुवानी भाडा लाग्दै आएको छ ।
सबैभन्दा बढी सालदाङमा चामल पु¥याउन प्रतिक्विन्टल ९ हजार रूपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल ७ हजार रूपैयाँ छ । जबकि ढुवानी भाडा चामलको मूल्यभन्दा २ हजार बढी छ ।
निजी क्षेत्रबाट बिक्री गर्ने चामलमा ३० केजी चामललाई धोमा ६ हजार रूपैयाँ पर्छ भने तिन्जेमा ७ हजार रूपैयाँ पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताउनुभयो । ७ हजार रूपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उहाले बताउनुभयो ।
हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको समेत ढुवानी रोकिएको छ ।
ढुवानीको ठेक्का लिएका ठेकेदारले तोकिएको समयमा चामल ढुवानी नगर्दा अहिले समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।
५ सय क्विन्टल कोटा रहेको शे–फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १ सय ८० क्विन्टल चामल मात्र पुगेको छ ।
सदरमुकाम दुनैमा चामल टन्न छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्या भएको नागरिकहरुले बताएका छन ।
उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्गबाहेक अन्य सम्भावना छैन ।
सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रूपैयाँमा खाद्य व्यवस्थाले चामल लैजाने गर्छ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म ८८ देखि सय रूपैयाँमा ढुवानी गर्ने गर्छन् ।