माओवादी कर्णालीको पदाधिकारी आज चुनिदै, अध्यक्षमा केसी र सचिवमा जि.सीको चर्चा

सुर्खेत, २९ मंसिर जागरण ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चुनिने लगभग पक्का भएको छ ।
मंगलबार सम्पन्न प्रथम प्रदेश सम्मलेनले २११ सदस्यीय प्रदेश सदस्य चयन गरेको छ । यीनै सदस्यबाट पदाधिकारी चयन गर्नेछ । सुरुमा दर्जनबढी नेताहरुले अध्यक्षमा दाबि गरेका थिए । प्रदेश सदस्य मध्यबाट नै अध्यक्ष चयन गर्ने प्राब्धान भएकाले अध्यक्षका दाबेदार मध्य केसी मात्रै सदस्यमा छानिएकी छन् । अध्यक्षका दाबेदार अन्य नेताहरु केन्द्रीय सदस्य थिए । प्रदेस सदस्य छानिनका लागि अन्य कमिटिबाट राजिनामा दिनुपर्ने थियो । अध्यक्ष नपाए केन्द्रीय सदस्य समेत गुम्ने देखेपछि अरु नेताहरुले प्रदेश सदस्यमा जोखिम लिन नचाहेको एक नेताले बताए । केसी रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा समानुपातिक तर्फकी सांसद् हुन् । उनी महेन्द्र शाही नेतृत्वको प्रदेश सरकारको पहिलो कार्यकालमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी थिइन् ।
अध्यक्ष बाहेकका पदाधिकारीमा पनि आकांक्षी धेरै देखिएका छन् । प्रदेश कमिटिमा उपाध्यक्ष र सहसचिव तीन–तीन जना तथा सचिव र कोषाध्यक्षमा एक एक जना रहने व्यवस्था छ । सचिवमा कृष्ण जिसीको चर्चा छन् । जिसी सुर्खेत जिल्लाका अध्यक्ष हुन् । पदाधिकारीमा जाजारकोटका गगन खड्का र गणेश प्रसाद सिंह, सल्यानका कर्णजीत बुढाथोकी, दैलेखका कर्ण वस्नेत, कालिकोटका लक्ष्मी प्रसाद चौलागाई लगायतको दाबि छ । अध्यक्षसहित नौ जना पदाधिकारी रहेकोमा नौ जिल्लाबाट एक एकलाई समेट्ने मनस्थितिमा नेताहरु देखिएका छन् । यसो गर्दा प्रदेशका दश जिल्ला मध्य एउटा जिल्ला मात्र पदाधिकारी पाउनबाट बञ्चित हुनेछ ।
प्रदेश सदस्य संख्या जिल्लामा संगठित सदस्य संख्याका आधारमा निर्धारण गरिएको छ । धेरै संगठित सदस्य हुने जिल्लाले बढी र कम संगठित सदस्य हुने जिल्लाले कम प्रदेश सदस्य पाएका छन् ।
कमिटिको पहिलो बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । पहिलो बैठक भने ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । बुधबार पहिलो बैठक बस्ने जनाइएको छ । अध्यक्षसहित पदाधिकारीमा आकांक्षी धेरै भएपछि नेतृत्वलाई पदाधिकारी चयनमा सकस भएको हो । दर्जन बढी नेताहरुले अध्यक्षमा दाबि गरेका थिए ।