कर्णाली प्रदेशसभा सदस्य भण्डारीद्वारा आविष्कार प्रतिष्ठान विद्येयक दर्ता

जागरण संवाददाता

सुर्खेत, २९ मंसिर ।
कर्णाली प्रदेशसभा सांसद नरेश भण्डारीले कर्णाली नव–प्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विद्येयक २०७८ दर्ता गराएका छन् ।
सांसद् भण्डारीले प्रदेशसभा सचिवालयमा बुधबार उक्त विद्येयक पेश गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा अन्वेषण तथा आविष्कार गर्न प्रोत्साहन गर्न विद्येयक निर्माण गरेको सांसद् भण्डारीले बताए । अन्वेषण आविष्कारको क्षेत्रमा लाग्नेहरुको प्रोत्साहन गर्न तथा आविष्कारुलाई कर्णालीको विकासमा जोड्नका लागि उक्त विद्येयक दर्ता गराएको सांसद भण्डारीले बताए । ‘नयाँ साइनटिष्टहरुले गरेका आविष्कारहरु दिन्छन त्यसलाई मार्केटिङ गरिदिने खरिद गरिदिने प्रोत्साहन गरिदिने हाम्रो संरचनाको कमी छ जसले गर्दा प्रतिभाहरु फस्ट्रेड र पलायन हुने अवस्था छ’ सांसद् भण्डारीले विद्येयकको औचित्य बारे प्रष्ट्याउदै भने,‘उनीहरुको कन्सेप्टलाई खरिद र मार्केटिङ गरिदिनुपर्छ राज्यले भन्ने उद्देश्य हो यो विद्येयक पारित भएपछि त्यसको बाटो खुल्नेछ ।’
प्रतिष्ठान प्रदेश सरकारको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय मातहतमा रहने विद्येकमा उल्लेख गरिएको छ । उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री कुलपति रहने र उपकुलपति सरकारले नियुक्त गर्ने व्यवस्था विद्येयकमा प्रस्ताव गरिएको छ । प्रतिष्ठान अन्तर्गत अन्वेषण तथा आविष्कार केन्द्र स्थापना गर्ने विद्येयकमा उल्लेख छ । विद्येयकमाथि छफलगरी प्रतिवेदन तयार गरेर सभामुखलाई पेश गर्ने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।
भण्डारीले यसअघि पनि सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक संसद सचिवालयमा दर्ता गराएका थिए । उक्त विद्येकमाथि छलफलगरी प्रतिवेदन सभामुखलाई पेश गरिसकेको सचिवालयले जनाएको छ । भण्डारीले संविधानसभा सदस्य हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि गैरसरकारी विद्येयक दर्ता गराएका थिए । उक्त विद्येयक अनुसार प्रतिष्ठान गठन भएर यस बर्षदेखि एमबिविएस अध्यापन सुरु भएको छ ।