लक्षित बर्ग बजेट विनियोजत तथा कार्यान्वयन प्रभावकारी बनाउने प्रतिबद्धता

 

जागरण संवाददाता
सुर्खेत, १ पुस ।
वीरेन्द्रनगर नगरपालिकामा दलित लक्षित बजेट विनियोजन तथा कार्यन्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
लक्षित बर्ग बजेट न्यून विनियोजन हुने र सो बजेट पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै आगामी दिनमा प्रभावकारी कार्यान्वयन गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका हुन् । नेप्सकोनको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा द एसिया फाउण्डेशनको सहयोगमा बिहीबार वीरेन्द्रनगरमा आयोजित सार्वजनिक सुनुवाईमा विभिन्न प्रतिबद्धता गरिएको छ । योजना छनौट गर्दा दलित दक्षित कार्यक्रमहरु टोल स्तरबाटै माग गर्न सहजीकरण गर्ने, दलित लक्षितवर्गका लागि बजेट विनियोजन बृद्धि गर्ने , चालु आर्थिक वर्षमा विनियोजित दलित लक्षित योजना तथा कार्यक्रम समयमै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता सरोकारवालाहरुले गरेका छन् । यस्तै लक्षितवर्ग कार्यक्रममा बजेट विनियोजन गर्दा डल्लो बजेट विनियोजन गर्ने परिपाटिको अन्त्य गरी कार्यक्रम र योजन तोकेर विनियोजन गर्ने तथा वीरेन्द्रनगर नगरपालिकामा दलित मैत्री नीति तथा दलित शसक्तिकरण विद्येयक निर्माणका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाइएको छ ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्माले स्पष्ट नीति नहुँदा लक्षित बर्ग बजेट विगतको जति हुन नसकेको बताउनुभयो । वीरेन्द्रनर नगरकार्यपालिका सदस्य डण्ड वि.कले नीति नै निर्माण नभएका कारण दलित तथा सिमान्तकृत समुदाय राज्यको पहुँचमा पुग्न नसकेको बताउनुभयो । उहाँले व्यवहारिकताको आधारमा सबै वर्ग र समुदायका लागि बजेट विनियोजन गरिएपनि स्पष्ट नीति नहुँदा दलित बर्गका लागि बजेट विनियोजन र कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । अर्का कार्यपालिका सदस्य बिष्ण बादीले दलितभित्र पनि पिछडिएको बादी समुदाय लक्षित कार्यक्रम बनाउन आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा नगरपालिकाका बरिष्ट अधिकृत प्रकाश पौडेल र सहकारी तथा समाज कल्याण शाखा प्रमुख टंक लामिछानेले विगतमा जस्तो सहभागितामूलक योजना छनौट र लक्षित वर्ग बजेट विनियोजना हुन नसकेको औँल्याउनुभयो । योजना छनौटका चरण तथा लक्षित बर्ग बजेट विनियोजनमा जनप्रतिनिधिहरुले नै ध्यान दिनुपर्ने बताउनुभयो ।
दलित महिला तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चिताको लागि स्थानिय शासन सुदृढिकरण कार्यक्रम अन्तर्रगत आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले स्पष्ट नितिको अभावका कारण बजेटको पहुँचमा दलितहरु नपुगेको बताए ।

कार्यक्रममा बोल्दै नेप्सकोनका अध्यक्ष जेवी विश्वकर्माले सार्वजनिक सुनुवाईमा गरिएका प्रतिवद्धता पूरा गर्नुपर्ने बताउनुभयाे ।