नियमित विद्यालय उपस्थित गराउन डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

सुर्खेत, २ पुष (जागरण) । शैक्षिक सामग्री अभावका कारण विद्यालयमा नियमित उपस्थित हुन नसकेका डोल्पाका दुइ सय ५ जनालाई शैक्षिक सामग्री दिइएको छ ।
समाजजागरण केन्द्र (स्याक) नेपाल र प्लान इन्टरनेश्नल नेपालको साझेदारी र सम्बन्धित पालिकाको समन्वयमा ति बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।
डोल्पा जिल्लामा संचालन भएको स्टिम अहेड परियोजना अन्तरगत छनोट भएका ५० वटा विद्यालय मध्य तल्लो डोल्पाका ३४ विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
उनीहरुलाई नियमित विद्यालयमा उपस्थित हुन सहयोग पुर्याउने गरी विद्यालय झोला, पोशाक र कपी उपलब्ध गराइएको परियोजनाले जनाएको छ ।
माथिल्लो डोल्पामा पर्ने तीनवटा गाउंपालिकाका १६ वटा विद्यालयहरुमा हिमपातका कारण पठनपाठन बन्द भएकाले विद्यालय संचालन भएपछि सामग्री वितरण गरिने जनाइएको छ ।