सहकारीहरु उत्पादनमा केन्द्रीत हुनुपर्नेमा जोड

सुर्खेत, ४ पुष (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायाँ ढकालले सहकारीहरु उत्पादनमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ ।
हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो बार्षिक साधरणसभामा शनिबार बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
उपप्रमुख ढकालले विकासको एउटा खम्बाको रुपमा रहेको सहकारीलाई उत्पादनमा नजोडेसम्म गरिबी कम गर्न नसकिने बताउनुभएको हो ।
उहाले सहकारीहरुले गर्ने कार्यलाई सहयोग गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको भन्दै सिर्जनशिल र उत्पादनमुखि काममा जोडिनुपर्ने बताउनुभयो ।
हातेमालो जागरण सहकारीले लिएका उद्यमशिलता र अन्य आयआर्जनका कार्य संचालन गरेर नमुना काम गरेको भन्दै प्रसंशा गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारीले अब उद्योग धन्दा र अर्गानिक उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाले हातेमालो जागरण सहकारीले कर्णालीभरको उत्पादनको बजारिकरण गर्न सक्नेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष पूर्ण प्रसाद पौड्यालले उद्देश्य मिल्ने सहकारीहरु एक भएर अगाडी बढ्नुपर्ने भन्दै कर्णालीमै सहकारी मर्जिङ अभियान शुरुवात हातेमालो जागरण सहकारीबाट भएको बताउनुभयो ।
उहाले सहकारीलाई नीतिगत ढङ्गले अगाडी बढाइएको भन्दै हातेमालो जागरण सहकारीले नमुना काम गर्ने बताउनुभयो ।
साधरणसभामा सहकारीका सल्लाहाकार गोपिकृष्ण ढकाल र स्याक नेपालका अध्यक्ष मिना तिवारीले पनि उत्पादनमा सहकारी केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
सहकारीको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष चन्द्रा कुमारी भट्टराइले एक करोड ८१ लाख ७० हजार ३८ रुपैयाको कारोबार भएको बताउनुभयो ।
संस्थाका सचिव नवराज खड्काले बार्षिक प्रतिवेदन पेश गर्दै सहकारीमा अहिले करिब ४ सय शेयर सदस्य पुगेको जानकारी गराउनुभयो ।
साधरणसभाबाट उत्कृष्ट कर्मचारीका रुपमा खुम प्रसाद खराल र मञ्जु तिवारीसहित जेष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको सहकारीका अध्यक्ष पौडेले जानकारी दिनुभयो ।
सहकारीले शेयर सदस्यको बच्चा जन्मिदा सुत्केरी राहात स्वरुप दुइ हजार दिने गरिएको छ भने शेयर सदस्यको मृत्यु भएमा पनि दुइ हजार राहत उपलब्ध गराउँदै आएको छ ।
सहकारीले विभिन्न उद्यमशिलता र आयआर्जका कार्यक्रम मार्फत महिला र बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउँदै आएको छ । भने सहकारी मार्फत सुर्खेतबाट प्रशारित जागरण एफएम, अनलाइन जागरण डटकम पनि संचालन भइरहेको छ ।