युवा सशक्तीकरण परियोजनाः सन २०२२ मा बालबालिका र युवा लक्षित विभिन्न रचनात्मक कार्यक्रम गरिने

सुर्खेत, ५ पुष (जागरण) । सुर्खेतमा संचालित किशोर किशोरी तथा युवा सशक्तीकरण परियोजना मार्फत सन २०२२ मा बालबालिका र युवा लक्षित विभिन्न रचनात्मक कार्यक्रम गरिने भएको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको उक्त परियोजनामार्फत आर्थिक अभावमा विद्यालय बाहिर रहेका बालबालिकालाई शैक्षिक सहयोगसँगै निम्न वर्गका युवाहरुलाई उद्यमी बनाइने भएको हो ।
कार्यक्रम लागु भएका वीरेन्द्रनगर र बराहाताल गाउँपालिकामा विविध कार्यक्रम संचालन गरिने परियोजनाले जानकारी दिएको छ ।
सोमबार सुर्खेतको वराहातलमा गरिएको परियोजना सल्लाहाकार समितिको बैठक तथा अर्धबार्षिक समिक्षा कार्यक्रममा सन २०२२ मा परियोजनाले गर्ने कामको बारेमा जानकारी गराइएको थियो ।
अब आउने बर्षमा वराहातालका मात्रै ३५ जना निम्न आय भएका बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिने परियोजनाका संयोजक तेज सोनामले बताउनुभयो ।
उहाँका अनुसार बालबालिका तथा युवाहरुलाई जीवनउपयोगी सिप संचालन गर्ने, ४० जना युवाहरुको लागि व्यवसायिक तालिम संचालन गर्ने, व्यवसायिक बनाउन विभिन्न आर्थिक र प्राविधिक सहयोग गरिने छ ।
त्यसैगरी, सिकाईमा समानता ल्याउन उपचारात्मक शिक्षा र अविभावक शिक्षा पनि संचालन गरिने छ भने बालबिवाह रोक्न विभिन्न सचेतनाका कार्यक्रम संचालन गरिने उहाले जानकारी दिनुभयो ।
साथै वराहातालमा यो बर्ष दलित र विपन्न वर्गका बालबालिका जसले आर्थिक अभावका कारण पढाईलाई निरन्तरता नदिएको र उनिहरुलाई १२ हजारका दरले पाँच लाख रकम दिइएको बताइएको छ । अहिले उनिहरु नियमित विद्यालय गइरहेको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै जनज्योती मावी बड्डीचौरका प्रधानाध्यापक नारायण सिग्देलले युवाहरुलाई उद्यमी र विद्यार्थीहरुलाई शैक्षिक सहयोग गर्ने परियोजनाको कार्यप्रति प्रशंसा गर्दै परिणाम निस्कने गरी काम गर्न सुझाव दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत युवाहरुलाई नै स्वरोजगार बनाउन सके गरिबी आफै कम भएर जाने भन्दै यसको निरन्तरताको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्याक नेपालका सल्लाहाकार पूर्ण प्रसाद पौडेलले यो कार्यक्रमको नतिजा राम्रो नै देखिनेगरी काम हुने यो कार्यक्रम लागु नभएका वडाहरुमा समेत यसको सिकाइ हुने बताउनुभयो ।
वराहाताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले स्याक नेपालले संचालन गरेका यस अघिका कार्यक्रमहरुले थुप्रै परिणाम ल्याएको भन्दै यो कार्यक्रमबाट पनि राम्रै परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाले गाउँपालिकाबाट पनि उद्यमी बनाउने सन्दर्भमा केही कार्यक्रमहरु रहेको भन्दै परियोजना र पालिकाको एउटै फन्टमा काम गर्ने सन्दर्भमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा गरिएको लगानी कहिले पनि खेर नजाने बताउँदै अध्यक्ष बस्नेतले यसको नतिजा समाज रुपान्तरण पछि मात्र आउने बताउनुभयो ।
परियोजनाले सुर्खेतका दुइवटा पालिकामा काम गर्दै आएको छ । भने परियोजना सन २०२६ सम्म संचालन हुने छ ।