सुर्खेत, पुस ६ ।
हुम्लाका चन्द्रे कामीको अवस्था सार्बजनिक गर्न कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दबाव मूलक कार्यक्रम गरिएको छ ।
जात व्यवस्था उन्मुलन मोर्चा जिल्ला कार्यसमिति सुर्खेतले आज वीरेन्द्रनगरको वीरेन्द्रचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले चन्द्रे कामीको अवस्था सार्बजनिक गर, जात व्यवस्था मुर्दावाद लगायतका नारा लेखेका पर्चा टासेका थिए । जात व्यवस्था उन्मुल मोर्चा सुर्खेतकी संयोजक अस्मिता बादीले सरकारले चन्द्रे कामीको खोजीमा पनि विभेद गरेको बताइन् । ‘यदि चन्द्रेको पछाडी कामी हुन्थिएन भने सरकारले खोजी कार्यमा तदारुक्ता देखाउथ्यो होला’ उनले भनीन्,‘दलित भएकाले सरकारले खोजी कार्यमा पनि विभेद र वेवास्ता गरेको छ ।’ वेपत्ता पारिएका चन्द्रे कामीको स्थिति तत्काल सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम गर्ने उनले बताएकी छन् ।
मुगुको सोरु गाउँपालिका वडा नं.४ लिव्रुगाउँकी रमीला मल्लबीसंग प्रेम विवाह गरेका हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. १ जैरका चन्द्रे कामी विगत सात दिनदेखि वेपत्ता छन् । चन्द्रेलाई केटी पक्षले २९ मंसिर राति घरबाटै उठाएर लगेका थिए ।