महिलालाई पैतला चटाउने धामी पुजारी पक्राउ

जागरण संवाददाता
सुर्खेत, पुस ७ ।
देउताको नाममा महिलामाथि अमानविय व्यवहार गर्ने सुर्खेतको लेकवेशी नगरपालिका–४ सिमलेका दुई धामी र एक जना पुजारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले धामीहरु मिलन ज्ञवाली र भक्ति ज्ञवाली तथा पुजारी पुजारी नन्दलाल ज्ञवालीलाई मंगलबार पक्राउ गरेको हो । ज्ञवालीहरुको कुल पुजाका क्रममा आइतबार बाँकेकी एक महिलालाई धामीहरुले पैतला चटाउने तथा कुटपीट गरेका थिए । पैतला चटाएको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक कणक शाहीले बताए । ‘पक्राउ गरिएका तीनै जनाबिरुद्ध अपमानजक तथा अमानविय व्यवहार गरेको कसुरमा मंगलबार नै मुद्धा दर्ता गरेर अनुन्धानका अगाडी बढाएका छौँ’ प्रहरी निरीक्षक शाहीले भने,‘मूलकी अपराध संहिता बमोजिम यस्तो कसूर गर्नेलाई पाँच बर्ष कैद र पचास हजार रुपैँया जरीवाना हुने व्यवस्था छ ।’ पीडित महिला भने प्रहरीको सम्पर्कमा आइनसकेको उनले बताए । अपराधका घटनामा पीडितले नै उजुरी दिनुपर्छ भन्ने हुँदैन जोसुकै सूचना दिएपनि प्रहरीले एक्सन लिन्छ’ उनले भने‘यो घटनामा पनि सामाजिक सञ्जालमा आएको भिडियोका आधारमा प्रहरीले एक्न लिएको हो ।’