लेकवेशीमा युवा नीति बनाउन सुझाव


जागरण संवाददाता
सुर्खेत, ११ पुस ।
सुर्खेतको लेकवेशी नगरपालिकाका नागरिकले युवा नीति, फोहोर व्यवस्थापन योजना तथा विपद व्यवस्थापन योजना बनाइ कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
आयोन प्रयास परियोजना, सुन्दर नेपाल संस्था र जागरण एफ एमको समन्वयमा नगरपालिकाले आज आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले यस्ता सुझाव दिएका हुन् । यस्तै सहभागीहरुले योजना छनौट तथा उपभोक्ता समिति गठन गर्दा जनसहभागितालाई जोड दिनुपर्ने, टुक्रे योजना भन्दा देखिने खालका योजना बनाउनुपर्ने, सूचना प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् ।
नागरिकको सुझावलाई ग्रहण गर्दै नगरपालिकाले छिट्टै युवा नीति बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ । विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना र फोहोर व्यवस्थापन योजना निर्माणगरी लागू गर्ने, यथाशिघ्र किसान कल सेण्टर सञ्चाल गर्ने पनि सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । महिला स्वास्थ्य स्वंसेविकाहरुलाई तत्काल परिचयपत्र वितरण गर्ने तथा स्वंसेविकाहरुको वृति विकासका लागि आगामी योजना तथा कार्यक्रममा प्राथमिकता दिने र कृषि तथा पशु शाखाबाट सञ्चालन गरिने अनुदानका कार्यक्रमलाई थप पारदर्शी एवं प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
सार्वजनिक सुनुवाईमा बोल्दै नगर प्रमुख गगनसिं सुनारले सार्बजनिक सुनुवाइमा गरिएका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताउनुभयो । नागरिकका सुझावलाई आगामी दिनमा मार्गदर्शनका रुपमा लिने पनि प्रमुख सुनारले बताउनुभयो । उपप्रमुख शान्त कुमारी छन्तेलले जनताका गुनासा सुनुवाई तथा नागरिकका सुझाव लिनका लागि नगरपालिकाले हरेक बर्ष सार्बजनिक सुनुवाई गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खरेलले नगरपालिकाले दिने सेवालाई थप प्रभावकारी बनाउन नागरिकका सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।