हिमपात र वर्षाले कर्णालीको जनजिवन प्रभावित, यस्तो छ आजको मौसम पूर्वानुमान

जागरण संवाददाता
सुर्खेत, १५ पुस  ।
हिमपात सहित परेको पानीका कारण कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
हिमाली जिल्लाहरु डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्लामा बाक्लो हिउ परेको छ । कर्णालीका अन्य पाँच जिल्लाका उच्च पहाडी भूभागमा पनि हिउँ परेको छ । अन्य भूभागमा हल्का देखि मध्यम बर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार हिजो रातिदेखि भएको हिमपात र बर्षाले अत्याधिक चिसो बढेको छ ।
मुगु, डोल्पा र हुम्लाको विमानस्थलमा बाक्लो हिउँ जमेपछि हवाई उडान भर्न पनि प्रभावित भएको छ । चिसो बढेपछि न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोकमा आगो बालेको छ ।
हिमपात र बर्षाले पशु चौपाय चराउन र घाँस दाउरा गर्न कृषकहरुलाई समस्या भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् ।
यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदलि भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो ः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ भने राती ः देशभर आंशिक देखी सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
विभागले मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।