राष्ट्रियसभा निर्वाचनका लागि एमाले कर्णालीबाट ९ जनाकाे नाम सिफारिस

स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको हो । यसअघि प्रदेश कमिटीको बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने अधिकार पदाधिकारीलाई दिएको थियो ।

बैठकले महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामालाई सिफारिस गरेको छ । अन्यतर्फ सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार सिफारिसमा परेका छन् ।

अपांगतर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम सिफारिस गरिएको प्रदेश कमिटीका अध्यक्ष विनोद शाहले जानकारी दिनुभयाे ।

एउटा कलष्टरबाट एक जना उम्मेदवार बन्न पाउनेमा तीन जनाको नाम सिफारिस गरिएको छ । रिक्त राष्ट्रियसभा सदस्यका लागि माघ १२ मा निर्वाचन हुन लागेको छ । कर्णालीबाट तीन कोटा रिक्त हुँदैछन् ।