मुगुमा सिटामोल अभाव

मुगु,१८ पुष (जागरण) । सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल अभाव भएको छ ।
औषधि अभावका कारण उपचारका लागि चौकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका हुन ।
विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका–६ सोरुकोटका बलिराज शाहीले बताए ।
जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन् ।
स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायका अनुसार गाउँपालिकाबाट आउने औषधिले गत बर्ष जम्मा तीन महिना पुगेको थियो । यो वर्ष अहिलेसम्म कुनै पनि तहको सरकारबाट औषधि आएको छैन ।
अब त सिटामोलसम्म पनि बाँकी नरहेको उनको भनाइ छ । औषधिका लागि धेरै पटक पालिकासँग माग गरे पनि नपाएको उनले बताए ।
चौकीमा कहिलेकाही सुत्केरी गराउन आउँदा समेत प्रर्याप्त सामाग्री अभाव हुने गरेको उनले बताए ।
‘विधुत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छौ,’ स्वास्थ्य चौकी नार्थपुका अहेब आर्यायले भने । उनका अनुसार औषधिको अभावले स्टोर पनि खाली भएको छ ।
सोरु गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कर्णबहादुर सावतका अनुसार आव २०७७÷७८ मा खरिद गरेको औषधिले अहिलेसम्म काम चलेको छ ।
आर्थिक बर्ष २०७८÷०८९ को औषधि खरिद गर्न पालिकाबाट बजेट बिनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदलले खाता सञ्चालनलगायत नहुँदा पालिकाभित्र औषधिको चरम अभाव भएको हो ।