सुर्खेत, १९ पुष (जागरण) । संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्णाली प्रदेशमा धान उत्पादनमा कमी आएको तथ्याङ्क सार्बजनिक गर्दा प्रदेशको कृषि निर्देशनालयले भने यस बर्ष कर्णालीमा धान उत्पादन बढेको बताएको छ ।
संघिय कृषि मन्त्रालयले ८.७६ प्रतिशतले कर्णालीमा धान उत्पादनमा कमी आएको तथ्याङ्क सार्बजनिक गरेको छ । तर निर्देशनालयले भने गत वर्षभन्दा यो वर्ष साढे पाँच प्रतिशतले धान उत्पादनमा बृद्धि जनाएको हो ।
निर्देशनालयका अनुसार गत वर्ष २०७६÷७७ मा कर्णालीमा एक लाख २० हजार ९ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । भने यो अर्थिक वर्ष एक लाख ८१ हजार एक सय ९७ मेट्रिक टन धान उत्पादन भएको हो ।
निर्देशनालयको तथ्याङ्कमा गएको आर्थिक वर्ष भन्दा यस वर्ष प्रति हेक्टर शून्य दशमलप ६३ प्रतिशतले धान बृद्धि भएको छ ।
कर्णालीमा गतवर्ष भन्दा यो वर्ष ९ हजार ६ सयले हेक्टर क्षेत्रफल अर्थात ४९ हजार ८ सय २९ हेक्टरमा धान लगाइएकोमा विगतका वर्ष भन्दा ६० हजार दुई सय २६ मेट्रिक टनले धान उत्पादन बृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
कोरोनाका कारण किसानहरु समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन बृद्धि भएको रोकायको भनाई छ ।
धान थन्क्याउने बेलामा नै वर्षा र हावाहुरीका कारण २५ प्रतिशत काटेको धानमा क्षति पुगे पनि समग्रमा उत्पादनमा भने बृद्धी भएको उहाले जानकारी दिनुभयो ।
सरकारले उत्पादन बृद्धिका लागि कृषकलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेति गर्नु जस्ता कारणले पनि धान उत्पादनमा बृद्धि भएको निर्देशनालयले जनाएको छ ।
यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा उत्पादन भएको धानको परिमाण पाँच वर्ष यताकै सबैभन्दा कम भएको छ ।
चालु आवमा ५१ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
गत आवको तुलनामा यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।