मदानीचौरका डेढ सय परिवार एउटै धाराको भरमा


जागरण संवाददाता
सुर्खेत, २२ पुस ।
सुर्खेतको भेरीगंगा नगरपालिका स्थित वडा नं. १० मदानीचौरका करिब डेढसय परिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् ।
चैत बैशाखमा घण्टौँ लाइन बसेर पानी भर्नुपर्ने मदानीचौरवासीको बाध्याता छ । यहाँका नगारिकले जेठामासमा त तिर्खा मेटिनेगरी पानी पिउन समेत पाएका छैनन् । साउनदेखि फागुनसम्म केही सहज भएपनि चैत बैशाखमा भने पानीको हाहाकार हुने गरेको छ । चैत बैशाखमा सोही धारामा दुईदेखि पाँच घण्टा पालो कुरेर स्थानीयले पानी भर्दै आएको स्थानीय दीपक विसीले बताए । ‘मदानीचौर पूरै गाउँका लागि एउटा मात्र धारो छ’ खानेपानी समस्या बारे सुनाउँदै विसीले थपे,‘अरु बेला त अलि पुग्छ गर्मी महिनामा चार पाँच महिना पालो कुर्नुपर्ने हुन्छ ।’
मदनचौरवासीले नुहाउने लुगा धुने तथा पशु चौपायालाई खुवाउनका लागि पनि त्यही धाराको पानी प्रयोग गर्दै आएका छन् । गर्मी मौसममा प्यास मेटिनेगरी पानी पिउन समेत नपाएको स्थानीय टिका रानाले पीडा सुनाइन् । गोर्खा वेलफेयर स्किमको सहयोगबाट २०७२÷०७३ मा निर्माण गरिएको खानेपानीले केही घरधुरीमा सुविधा पुगेको भएपनि उक्त आयोजना छ सात महिनादेखि अबरुद्ध छ । त्यसको पुनसंचालनका लागि समितिले चासो देखाएको छैन् । निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरुले गाउँमा खानेपानी पु¥याउने बाचा गर्छन । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि दलहरुले मदानीचौरवासीलाई खानेपानी आयोजना बनाइदिने बाचा गरेका थिए । २०७४ मा निर्वाचित स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको कार्यअवधि सकिन अब केही महिना मात्र बाँकी छ । तर मदनचौरवासी भने अझै काकाकुलमै छन् । ‘चुनावका बेला त सबै नेताले खानेपानी ल्याइदिन्छौँ भन्दै भोट माग्न आउँछन्’ टिकाले आफ्नो दुखेसो यसरी पोखिन,‘अघिल्लो पटकको चुनावमा पनि भोट माग्न नगरपालिका बाट पनि आएका थिए सांसद पनि आएका थिए । जितेकाहरुको म्यान सकिन लाग्यो भन्छन । हाम्रोमा खानेपानी कहिले आउने हो खै ।’
यता भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु ढकाल भने डेढ बर्षभित्रमा खानेपानी समस्या समाधान हुने दाबि गर्छिन । ‘मदानीचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भैसकेको छ’ उपप्रमुख ढकालले भनीन्‘अब डेढ बर्षभित्रमा मदानीचौरको खानेपानी समस्या समाधान हुन्छ ।’


उक्त आयोजनाले पनि उपप्रमुख ढकालले दाबि गरेजस्तो मदानीचौरवासीको खानेपानी समस्या भने पूर्ण रुपमा समाधान देखिदैन । नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सिमित भएकाले घर घरमा धारा पुग्ने अवस्था छैन् । अर्काे तर्फ आयोजनाको काम समेत द्रुत गतिमा हुन सकेको छैन् । हालसम्म रिवर्ट ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ । इन्जिनियर खत्रीका अनुसार मुहानबाट रिजर्ब ट्यांकीमा पानी पु¥याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत ट्रान्सफर्मर राख्नुपर्ने छ । नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भैरहेको छ । ‘मुहानको पानी ट्यांकीमा ल्याउनका लागि भने मोटरको प्रयोग गर्नुपर्ने र त्यसको लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ’ इन्जिनियर खत्रीले भने,‘त्यसका लागि इलेक्ट्रिक इन्जिनियरिङ्ग सम्बन्धी हाम्रो जनशक्ति नहुँदा समस्या भएको छ ।’ सम्झौता अनुसार चालु आर्थिक बर्षभित्रैमा आयोजना सम्पन्न गर्नुपर्ने भएपनि अहिलेको अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुश्किल देखिएको छ ।