प्रदेश सरकारको बजेटप्रति सत्तारुढ सांसदहरु नै असन्तुष्ट

सुर्खेत, ५ असार (जागरण) । कर्णाली प्रदेशका सांसदहरुले प्रदेश सरकारकाले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले संसदमा प्रस्तुत गरिएको बजेट महत्वाकांक्षी भएको र कार्यान्वयन गर्न नसकिने बताउनुभयो ।
आजको संसद वैठकमा बोल्दै नेता शाहीले बजेट कार्यान्वयनमा चुनौती भएको उल्लेख गर्नुभयो ।
सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद ठम्मर विष्टले बजेटले प्रभावकारी रुपमा जनताको मन जित्न नसक्ने बताउनुभयो । आफुले संसदमा विरोधका लागि विरोध गरेको नभई यसको प्रभावकारीताको विषयमा प्रश्न उठाएको उल्लेख गर्दै उहाँले बजेट कार्यान्वयनमा समस्या देखिने दाबी गर्नुभयो ।
सांसद पदमा खड्काले बजेट कार्यान्वयनमैं समस्या देखिएको बताउनुभयो । कर्णाली प्रदेशका आम जनताले बजेट कार्यान्वयनलाई चासोका साथ हेरिरहेको उल्लेख गर्दै सांसद खड्काले प्रदेश सरकारको बजेट पुरानै शैलीको केन्द्र सरकारको बजेट जस्तै भएको धारणा राख्नुभयो ।
सांसद विन्दमान विष्टले कार्यान्वयन नै हुन नसक्ने बजेट ल्याइएको बताउनुभयो । सुर्खेतका बाढि पिडितको कुरा बजेटमा नसमेटिनु दुर्भाग्य भएको उल्लेख गर्दै सांसद विष्टले बाढि पिडितका लागि बजेट नआउनु दुःखद भएको बताउनुभयो । संसद बैठक भोली दिउँसो ३ बजे पुनः बस्नेछ ।