विपन्न नागरिकहरुलाई रोजगारी दिन्छौः मुख्यमन्त्री शाही

सुर्खेत, २६ पुष (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत गरिब, विपन्न समुदायलाई रोजगारी र जीविकोपार्जनमा सहयोग पुर्याउने बताउनुभएको छ ।
तीनै तहका सरकारको उद्देश्य जनताको सेवा भएकाले संघ, प्रदेश र स्थानीय तहको सहकार्य जरुरी रहेको उनले बताउनुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको प्रदेश सरकारबाट सञ्चालन भएका कार्यक्रमबारे सल्यानमा अनुगमनमा पुग्नुभएका मुख्यमन्त्री शाहीले सरकारले अगाडि सारेका कार्यक्रम सफल बनाउन एकआपसमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकारलाई व्यवस्थित र बलियो बनाउन सके विनियोजित बजेट र अगाडि सारिएका कार्यक्रम सफल हुने उहाको भनाइ छ ।
मुख्यमन्त्री शाहीले तीन तहबीच सहकार्य हुनुपर्ने भएपनि स्थानीय तहका पदाधिकारीले भने सहकार्य हुन नसकेको गुनासो राख्नुभएको छ ।
दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले स्थानीय तह र प्रदेश सरकारबीच एकआपसमा सहकार्य हुन नसक्दा विकास योजना कार्यान्वयनमा समस्या भएको गुनासो गर्नुभयो ।
उहाले स्थानीय सरकारले प्राथमिकताका साथ अघि सारेको र प्रदेशबाट आउने योजनाबीच तालमेल नमिल्दा विकासका योजना प्रभावकारी नबनेको जिकिर गर्नुभयो ।
बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले जनताको सबैभन्दा नजिकको सरकारको विश्वास प्रदेश सरकारले गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाकाअनुसार प्रदेश सरकारले योजना छनोट, कार्यान्वयन र अनुगमनजस्ता कार्यमा सहकार्य गर्न सकेको छैन । जाजरकोट, शिवालय गाउँपालिका–२ का वडाध्यक्ष जसवीर ओलीले स्थानीय तहले माग गरेका योजना नआएको गुनासो गनुभयो ।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्ने क्रममा सल्यान, रुकुम पश्चिम र जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिसँग सल्यानमा सुझाव लिनुभएको छ ।