चालु आर्थिक वर्षको बजेट ७ दशमलव ४२ प्रतिशत मात्रै खर्च

सुर्खेत, ५ असार (जागरण) । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि ल्याएको बजेट खर्च नै गर्न नसकिएको जानकारी दिएको छ ।
आज बसेको संसद वैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ल्याएको खर्च विवरण सार्वजनिक गर्दै ७ दशमलव ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको जानकारी दिनुभयो ।
विवरण अनुसार प्रदेशको खर्च भएको रकम जम्मा ७ दशमलव ४२ प्रतिशत मात्र रहेको छ । संसदमा प्रस्तुत विवरण अनुसार सबैभन्दा बढी प्रदेश सभाले रकम खर्च गरेको छ ।
प्रदेश सभालाई ३ करोड ७० लाख ६५ हजार रुपैयाँ चालू र २ करोड ५६ लाख रुपैयाँ पुँजीगततर्फ बजेट विनियोजन गरिएकोमा चालूतर्फ १ करोड ७० लाख २१ हजार ४ सय ४७ रुपैयाँ र पुँजीगततर्फ ३२ लाख ६४ हजार ३ सय ७९ रुपैयाँ खर्च भएको छ । यो बजेटको ३२ दशमलव ३७ प्रतिशत रकम हो ।
कर्णाली प्रदेश सरकारले गत बैशाख १६ गते चालु आर्थिक वर्षको तीन महिनाका लागि ल्याएको १ अर्ब २० करोड ५० लाखको बजेटमध्ये हालसम्म ७ करोड ५७ लाख ५२ हजार ३ सय ४ रुपैयाँ १५ पैसा मात्र खर्च भएको छ ।