कर्णाली प्रेशसभा बैठक आज बस्दै, के के छ कार्यसूची ?

जागरण संवाददाता
सुर्खेत, २८ पुस ।
कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत आज पहिलो बैठक बस्दैछ ।
दिउसो तीन प्रदेशसभा भवन इत्राममा बैठक बोलाइएको हो । बैठकमा चार वटा अध्यादेशहरु पेश गर्ने प्रदेशसभा सचिवालयको कार्यासूचि छ । सचिव जीवराज बुढकाथोकीका अनुसार सबैभन्दा पहिला प्रदेश प्रमुखबाट संसद अधिवेशन आह्वान सम्बन्धीको पत्र पढेर सभामुख राजबहादुर शाहीले सुनाउने छन् । त्यसपछि प्रदेश प्रमुख कार्यालयबाटै प्राप्त मन्त्रालयको जिम्मेवारी हेरफेरसम्बन्धीको पत्र पढेर जानकारी गराउने कार्यतालिका छन् । त्यस लगत्तै सभामुखले दल तर्फबाट धारणा राख्न समय दिनेछन् । बैठकमा प्रदेश सरकारले चार वटा अध्यादेशहरु पेश गर्दैछ । आर्थिक विद्येयक अध्यायदेश, विनियोजन विद्येयक सम्बन्धीको अध्यादेश, खेलकुद सम्बन्धी, लोक पदाधिकारीको पारीश्रमिक तथा सुविधा र कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यविधि ऐन संशोसधन सम्बन्धीको अध्यादेश पेश हुने सचिव बुढाथोकीले जागरणलाई जानकारी दिए । यस्तै प्रदेशसभाको अर्काे बैठक माघ २ गते बोलाउने कार्यतालिका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा बैठकमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालन गर्नेगरी तयारी गरिएको छ । प्रदेशसभा सदस्यहरुको स्वास्थ्य परिक्षण अनिवार्य भने गरिएको छैन् ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि सहभागी हुने भएको छ । एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले एमालेका उपलब्ध सदस्यहरु बैठकमा उपस्थित हुने र एमाले आफ्नो दलिय धारणा प्रस्तुत गर्ने जानकारी दिए । आज विहान बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी भएको छ ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठकमा एमालेका सांसदहरु उपस्थित भएका थिएनन् । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि १५ गते रातिदेखि अधिवेशन अन्त्य गरिएको थियो ।