एमाले दैलेखमा पुनः मतदान हुने, मिति तोक्न छलफल गर्दै नेताहरु

जागरण
सुर्खेत, २९ पुस ।
खसेको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि विवादमा परेको एमाले दैलेख जिल्ला अधिवेशनमा पुन मतदान हुने भएको छ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले पुन मतदान गर्न निर्देशन दिएको हो । सोमबार भएको मतदानमा खसेको भन्दा ३१ बढी मत मतपेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो । अब कहिले पुन मतदान गर्ने भन्ने विषयमा नेताहरु अहिले छलफलमा जुटको छन् ।‘हिजो केन्द्रीय निर्वाचन आयोगबाट पुन मतदान गर्ने निर्देशन प्राप्त भएको छ’ एमाले प्रदेश अध्यक्ष विनोद शाहले भने,‘अब कहिले मतदान गर्नसकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ ।’ एक हप्ता भित्रमा पुन मतदान गर्ने शाहले बताए । उपाध्यक्ष बाहेकका पदनमा पुन मतदान हुनेछ । उमाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका खड्गराज उपाध्यायले फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षका लागि सूर्यबहादुर शाही र रवीन्द्र राज शर्मा प्रतिस्पर्धामा छन् । अध्यक्षका लागि सुरुमा ६ जनाले उम्मेदवारी दिए पनि प्रेमबहादुर थापा, सूर्यबहादुर शाही, धीरबहादुर शाही, सुशील थापा र कर्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजाल सचिवका उमेद्वार छन् । उपसचिवमा गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही, लोकेन्द्रजंग शाही, कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी छ ।