किशोरीहरुलाई आइरन वितरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जागरण सम्बादाता
सुर्खेत, १ माघ । किशोरीहरुलाई देखिने गरेको रक्त अल्पता सम्बन्धी समस्या समाधानको लागि सुर्खेतमा आइरन फोलिक एसिड वितरण शुरु गरिएको छ ।
नेपाल सरकारको नियमित कार्यक्रम अन्तरगत समाज जागरण केन्द्र (स्याक) नेपालको सहयोगमा १० देखि १९ वर्षसम्मका किशोरीहरुका लागि आइरन फोलिक एसिड वितरण शुरु गरिएको हो ।
यस सम्बन्धी जानकारीका लागि सुर्खेतका सबै पालिकाका विद्यालय शिक्षकहरु, स्वास्थ्य संस्था प्रमुखहरु र विद्यालय नर्सहरुलाई अभिमुखीकरण गरिएको जनाइएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत १०–१९ वषर््ासम्मका सवै किशोरीहरुले आइरन चक्की नियमित रुपमा साउन, भदौ र असोज गरी १३ हप्ता र दोस्रो चरणमा माघ, फागुन र चैत गरी १३ हप्ता गरी जम्मा २६ हप्ता खुवाउनु पर्छ ।
विद्यालय वाहिरका किशोरीहरुलाई स्वास्थ्य संस्था मार्फत महिला स्वास्थ्य स्वयम् सेविकाले आइरन खुवाउनु पर्ने व्यवस्था गरिएको छ ।
तर यस वर्ष पहिलो चरणको कार्यक्रम कोभिडको प्रभावका कारण संचालन गर्न नसकिएको भएपनि दोस्रो चरणको कार्यक्रम माघ पहिलो साता देखि संचालन गर्ने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
हालको अवस्थालाई मध्यनजर गरी विद्यालय खुले लगतै अभियानकै रुपमा संचालन गरिने सुर्खेत जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा कार्यरत पोषण फोकल व्यक्ति अमर रानाले बताउनु भयो ।
किशोरीहरुको स्वास्थ्य अवस्था सुधारका साथै उनीहरु जन्मिने सन्तान पनि सुपोषित होस् भन्ने उद्देश्यले यो कार्यक्रम संचालन हुन लागेको हो ।
आइरन चक्की खानुका साथसाथै उपलब्ध आइरन युक्त खानेकुराहरु कलेजो, रक्ति, फल मासु, हरिया सागपात, कोदो, मासको दाल, गुन्दु्रक, सिस्नु आदि मात्रा मिलायर उपपभोग गर्नु पर्ने सआहारा कार्यक्रमका कर्णाली प्रदेश वरिष्ठ प्राविधक संयोजक निरज के.सी. बताउनुभयो ।
विद्यालयमा अध्ययनरत १०–१९ वषर््ासम्मका किशोरीहरु तथा विद्यालय बाहिर रहेका किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउने कार्यक्रमलाई अभियानकै रुपमा लैजान सहयोग गर्ने सुआहारा कार्यक्रम संचालनमा गरिरहेको स्थानीय साझेदार संस्था स्याक नेपालका कार्यक्रम व्यवस्थापक रेशम चन्दले जानकारी दिनुभयो ।
सन् २०१६ मा गरिएको एक स्वास्थ्य सर्वेक्षणले नेपालमा ४४ प्रतिशत किशोरीहरुमा रक्तअल्पता भएको पाईएको छ ।