कोरोना संक्रमण जोखिम बढ्न थालेपछि कर्णालीमा कडाई

सुर्खेत, २ माघ (जागरण) । कोरोना संक्रमण जोखिम बढ्न थालेपछि कर्णालीमा स्थानीय प्रशासनहरुले कडाई गर्न थालेका छन । पछिल्लो समय संक्रमण दर फैलिएसँगै प्रशासनहरुले कडाई गर्न थालेका हुन ।
सुर्खेतमा आज राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन २०२० आज राती बजेदेखि अर्को सूचना जारी नभएसम्म ‘स्मार्ट लकडाउन’ गर्न थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कर्णाली रैबारलाई जानकारी दिनुभयो । उहाका अनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।
सार्वजनिक सवारीको सन्दर्भमा स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ भने सबै यात्रुहरुले मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने भनिएको छ ।
दैलेखमा पनि पछिल्लो समय कोरोना संक्रमण दर बढ्न थालेको भन्दै गृह मन्त्रालयको निर्देशनअनुसार कडाई गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
जुम्लामा पनि खोप अभियान र जनचेतनाको कार्यक्रम अगाडी बढाइएको भन्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।