नाकाहरुमा कडाइ गर्न कर्णालीका मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, ३ माघ (जागरण) । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उहाले नाकाहरुमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।
‘भारतमा कोरोना संक्रमणको दर बढेपछि घर फर्किने कर्णालीबासीको संख्या पनि बढिरहेको भन्दै उहाले सीमा नाकामा तत्काल कडाइगर्न वैठकबाट निर्देशन दिएको जानकारी मुख्यमन्त्रीले गराउनुभएको छ ।
मुख्यमन्त्री शाहीका अनुसार कोरोनाको सम्भावित तेस्रो लहर रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारी समेत थालेको छ ।
त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्ने निर्णय गरिएको छ ।
सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने र भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै प्रत्येक जिल्लामा कोेभिड विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्र्ने, एम्बुलेन्सहरु अपुग भए खरिद् प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थारुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशील रहन निर्देशन समेत दिनुभएको छ । आवश्यकताको आधारमा बजेट जिल्ला जिल्लामा पठाइने उहाको भनाई छ ।