कर्णाली प्रदेशमा स्थानीय सरकारहरुले विभिन्न आयआर्जनका कार्यक्रम संचालन गर्दै, महिलाहरुको आर्थिक अवस्था सुधार

भावना राना ।
सुर्खेत, ४ माघ (जागरण) । कर्णाली प्रदेशमा स्थानीय सरकार गठन भएयता महिलाहरु आर्थिक अवस्था सुधार हुँदै गएको छ ।
पालिकाहरुले विभिन्न आयाआर्जनमुलक कार्यक्रम संचालन गर्न थालेपछि चुलो चौकोमा मात्र सिमित महिलाहरुको आर्थिक अवस्थामा सुधार हुँदै गएको हो ।
धेरै स्थानीय तहहरुले उपाध्यक्षको नेतृत्वमा विभिन्न आयाआर्जन सम्बन्धीका तालिम दिएर उद्यमी बनाएका हुन ।
दैलेखको महावु गाँउपालिकाले वडाहरुमा महिला, गरीब तथा लक्षित परिवारका लागि अनिवार्य न्यूनतम आयआर्जनको कार्यक्रम ल्याएको जानकारी दिएको छ । पछिल्लो समय महिलाहरु आर्थिक रुपमा सवल बन्न थालेको गाउँपालिकाले जनाएको छ ।
महिलाहरुका स्तरउन्नतिका लागि पालिकाले ६ वटै वडामा बाख्रा, कुखुरा पालन, तरकारी खेती, सिलाइकटाइ, मसला उद्योग, दालमोठ उत्पादन, होजियारी, दुना टपरी लगायतका विभिन्न स्वरोजगार मूखी कामर्यक्रमहरुमा सहभागी गराइएको गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी बुढाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै सल्यानाको सिद्ध कुमाख गाउँपालिकाले पनि महिलाहरुको क्षमता, र रुचिको आधारमा सुुहाउदो कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको छ ।
गाउँपालिकाले सिलाइकटाइ, विकल्प सहितको व्यावसायिक योजनामा सहभागी गराउन सरकारले कार्यक्रम ल्याएको र महिलाहरु उद्यमी बन्दै गएको गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो ।
यस्तै, हुम्लाको सर्केगाड गाउँपालीकाले पनि दुर्गम क्षेत्रका महिलाहरुको जिवनस्तर सूधारका लागि एकल महिला तथा विपन्न महिलासँग उपाध्यक्ष कामर्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताउनुभयो ।
यसैबिच, विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम दार्मा गाउँपालिकोमा प्रभावकारी बन्दै गएको छ ।
विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सिप तालिमबाट ग्रामीण क्षेत्रका महिला तथा पुरुष लाभान्वित भएका छन ्।
महिला चुलोचौको र पुरुष घरमै अरू काममा सीमित भएका दार्माका समुदाय अहिले धमाधम सिप सिक्न व्यस्त छन् ।
दार्मा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा सिलाइकटाइ, प्लम्बिङ, विद्युत् वाइरिङ, ड्राइभिङ, कम्प्युटर तालिममा महिला पुरुष व्यस्त हुँदै आइरहेका छन ्।
सिलाइकटाइमा महिला ३६ जना, प्लम्बिङमा २६ जना पुरुष, मसला उद्योगमा १२ जना महिला, ड्राइभिङ ३६ जना पुरुष, विद्युत् वाइरिङमा ३० जना पुरुष, होजियारीमा ३० महिला र कम्प्युटर मर्मत ३० मा गरी जम्मा २ सय जनाले तालिम लिइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकालाई आर्थिक रूपमा बलियो बनाउन आयआर्जन तथा उद्यमशीलता तालिम र व्यवसायमा बजेटको व्यवस्था गरिएको उपाध्यक्ष टीका शर्मा वलीले बताउनुभयो ।