कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट कार्यान्वयन निरासाजनक

सुर्खेत, ५ माघ (जागरण) । कर्णाली प्रदेश सरकारको यो आर्थिक बर्षमा पनि बजेट कार्यान्वयन निरासाजनक देखिएको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा ९.५१ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको हो ।
प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक बर्षको लागि ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो ।
उक्त बजेटमध्ये हालसम्म तीन अर्ब ४८ करोड १० लाख १७ हजार मात्र खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष यही अवधिसम्म १६.१३ प्रतिशत बजेट खर्च भएको थियो ।
मन्त्रिपरिषद्ले पूर्णता पाउनमा ढिलाइका कारण मन्त्रालयमा विनियोजित बजेट कार्यान्वयनमा असर पुगेको बताइएको छ । कर्णालीमा सामाजिक विकास, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, आन्तरिक मामिला तथा कानून र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय करिब तिन महिनादेखि मन्त्रीविहीन छन् ।
कर्णाली सरकारले चालु आवको पुस मसान्तसम्म रु तीन अर्ब ६४ करोड ६७ लाख ६ हजार ९५२ राजस्व सङ्कलन गरेको छ ।