गरिब प्रदेशका धनी मुख्यमन्त्री

हुम्ला, बाँके र काठ्माण्डौँमा घर जग्गा, ५६ तोला सुन, ९५ लाखको गाडी, करोड बढी बैंक ब्यालेन्स
जागरण संवाददाता
सुर्खेत, ११ माघ ।
कर्णाली प्रदेश देशकै गरिब प्रदेशमा गनिन्छ । यहाँका ५१ प्रतिशत नागरिक बहुआयामिक गरिबीको चपेटामा छन् । तर प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री भने धन दौलतमा सम्पन्न देखिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको करोडौँको चल अचल सम्पत्ती रहेको छ । शाहीको हुम्ला सदरमुकाम सिमकोटमा दुई वटा र काठ्माण्डौँको बनस्थलीमा एक वटा घर छन् । हुम्लाको एउटा घर भने मुख्यमन्त्री शाहीकी श्रीमती बसन्ती को नाममा छ । यस्तै बाँकेको खजुरमा दुई विगाह जग्गा पनि छ । बाँकेको नेपालगञ्ज र हुम्लाको खार्पुनाथ स्थित दुई ठाउँमा मुख्यमन्त्री आफ्नै र काठमाण्डौँको चन्द्रगिरीमा श्रीमतीको नाममा जग्गा छ । मुख्यमन्त्री शाही सुना चाँदीका हिसाबले पनि सम्पन्न देखिएका छन् । उनीसंग ५६ तोला सुन र दुई किलो चाँदी रहेको सम्पती विरणमा उल्लेख छ । यस्तै दुई लाख बराबरको औँठी, टप र एक लाख बराबरको नवरत्न छ ।
मुख्यमन्त्री शाहीसंग ९५ लाखको महंगो कार पनि छ । विभिन्न बैंक र सहकारीमागरी १ करोड २६ लाख नगद् बचत रहेको छ । जसमध्य ८३ लाख मुख्यमन्त्री शाहीको र ४३ लाख श्रीमती बसन्तीको खातामा छ । चौरी, झुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री शाहीले सबै सम्पत्ती पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् । यस्तै १ करोड ७२ लाख ऋण पनि रहेको सम्पत्ती विरणमा उल्लेख छ ।