शिक्षक बिधार्थीलाई खाेप लगाएर विद्यालय सञ्चालन गर्न शिक्षक संगठनको माग

जागरण संवाददाता
सुर्खेत, ११ माघ ।
विद्यालयमा भौतिक रुपमा पठन पाठनको व्यवस्था मिलाउन माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सुर्खेत ध्यानाकर्षण गराएको छ ।
विद्यार्थी र शिक्षकहरुलाई खोप लगाई शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था माग गर्दै संगठनले मंगलबार विज्ञप्ति मार्फत शिक्षा विकास तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको हो । । सचिव डिलाराम भण्डारी र अध्यक्ष रत्न बहादुर बुढाद्धारा हस्ताक्षिरित ज्ञापन पत्रमा सबै क्षेत्र बिनारोकटोक चलिरहेको अवस्थामा विद्यालय बन्द गराउनुको सट्टा शिक्षक विद्यार्थीलाई यथाशिघ्र खोपको व्यवस्था गरी स्वास्थ्यका मापदण्ड पूरा गरी शैक्षिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने उल्लेख गरिएको छ ।
संगठनले नेपाली शिक्षकका पेसागत समस्या समाधानका लागि नेपाल शिक्षक महासङ्घ तथा पेसागत सङ्घ सङ्गठनहरूसँग सरकारले गरेका सहमती इमानदारिताका साथ कार्यान्वयन गर्न पनि माग गरेको छ । शिक्षक सेवा आयोगको स्थायी पदपूर्तिका लागि गरिएको विज्ञापनमा वर्षौदेखि निरन्तर कार्यरत राहत अनुदान तथा करारमा काम गरिरहेका शिक्षकको लागि उमेरको हदबन्दी लगाई प्रतिस्पर्धाबाट बञ्चित नर्ग पनि संगठनले माग गरेको छ ।
राहत र करारमा कार्यरत शिक्षकलाई सञ्चित बिरामी बिदाको रकमको व्यवस्था गरिनुपर्ने, जीवन बीमाको व्यवस्था गरिनुपर्ने, लामो समयसम्म काम गरेका शिक्षकलाई दरबन्दीको व्यवस्था गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, अस्थायी सेवा अवधि जोड्नुपर्ने, निश्चित समयमा बढुवा हुने व्यवस्था गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।