छ महिनामा सवारी कारबाहीबाट पौने २ करोड राजश्व संकलन, २ सय ३ दुर्घटनामा ११८ जनाको मृत्यु

जागरण संवाददाता
सुर्खेत, ११ माघ ।
कर्णाली प्रदेशमा ट्राफिक नियम उलंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजश्व संकलन भएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट ट्राफिक प्रहरीले चालु आर्थिक बर्षको साउनदेखि पुससम्म २० हजार ५ सय १ कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार पाँच सय राजश्व संकलन गरेको हो ।
यही अवधिमा २ सय ३ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ सय १८ जना नागरिकको सडक दुर्घटनामा परि मृत्यु भएको छ भने ५ सय १५ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरील मंगलबार सार्बजनिक गरेको आफ्नो छ महिने प्रगति विवरण अनुसार ६ महिनामा १ करोड ३४ हजार ५६४ बराबरको लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामान र ११ जना व्यक्तिहरुलाई अवैध भन्सार छलीका सामान सहित पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा पठाईएको छ । यही समयमा नदीजन्य तथा खानीजन्य प्राकृतिक श्रोतहरूको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको र सो वापत २ लाख ४० हजार ५७० रुपैयाँ राजश्व संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै २७३ दशमल ६९ क्यूफिट काठ, ५ किलो ३ सय ग्राम यार्सागुम्बा, ४ थान रेडपाण्डाको छाला, ४ थान कस्तुरीको बिना १ थान सालकको खप्पर बरामद गरेको र त्यसमा संलग्न १८ जनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले लागू औषध दुव्यसनी तथा अवैध वेचविखन गर्ने ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर,१ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही गरेको छ । गत वर्षको ६ महिनामा भने ३५ जना पक्रा परेका थिए । यही समयमा २४ नाल बन्दुक बरामद र १५ जनालाई पक्रा गरेको प्रदेश प्रहरीले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।
छ महिनामा बिभिन्न मुद्वाका फरार १४१ जनालाई पक्राउ गरी ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान गरेको र १६ लाख १० हजार ८९० रुपैँया जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले सार्बजनिक गरेको विवरण अनुसार वितेका छ महिनामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम पनि गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न लागु औषध,घरेलु हिंसा न्यूनिकरणको लागि ३ हजार ५७९ वटा जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ३ लाख ४९ हजार ३७९ जना लावान्वित भएको उल्लेख गरिएको छ ।
यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी कर्मचारी परिवार, पूर्व प्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्नि पिडितलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा दुई लाख मूल्य बराबरको स्वास्थ्य सामग्रीसहित कालिकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको पनि प्रहरी जनाएको छ ।
फाइल तस्वीर