जागरण, संवाददाता
१२ माघ सुर्खेत ।
राष्ट्रिय सभाका रिक्त सदस्य पदमा आज बुधवार निर्वाचन हुँदैछ । निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।
कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा मतदान हुने र निर्वाचनका लागि सबै तयारी पूरा भएको प्रदेश निर्वानचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसे कर्णाली रैबारलाई जानकारी दिनुभयो । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुदैछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा छन् । तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवट समुहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ ।
महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरूङ, प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा (महत) ले उम्मेद्वारी दर्ता गराएका छन् । अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओबादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख एक सय ५० जना रहेका छन् । उनीहरूले नै राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानूनी व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार सय ८० रहेको छ । प्रदेश सभाका सदस्यको एक हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार दुइ हजार ७ सय रहेको छ ।