बजेट र योजनामा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले बनायो कार्यदल

सुर्खेत, १७ माघ (जागरण) । कर्णाली प्रदेशमा संसदको गतिरोध र बजेटमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।
विशेष गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएको माग सम्बोधन गर्न पूर्वकानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा तिन सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही छन् । संयोजक भण्डारीले प्रदेशसभाको गतिरोध अन्त्य गर्ने र बजेटमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।
संसद बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न कानुन बमोजिम बजेटमा हेरफेर गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यही अनुसार कार्यदल गठन गरिएको हो ।
कार्यदलले सदनको गतिरोध अन्त्य गर्न आवश्यक सुझाव सर्वदलीय वैठकमा पेश गर्ने म्याण्डेट पाएको छ । कार्यदलले भोलीसम्म सुझाव पेश गर्ने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुराना अलपत्र आयोजनालाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग अघि सारेको छ ।
त्यस्तै टुक्रे आयोजनालाई कार्यान्वयन गर्न नहुने, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फेरबदल भएको कार्यविधि संशोधन गर्नुपर्ने, सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने, क्षेत्र विकास कोषको बजेट सबै क्षेत्रमा पठाउनुपर्ने माग पनि एमालेले राखेको छ ।