सुर्खेतमा नक्कली नोट र नाईट्राभेटसहित ३ जना पक्राउ

जागरण संवाददाता
सुर्खेत, १७ माघ ।
सुर्खेतमा नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
एक हजार रुपैँयाका ९ वटा नक्कली नोटसहित तीन जनालाई छिञ्चुबाट प्रहरीले पक्राउ गरेको हो । वीरेन्द्रनगर न.पा. १० बस्ने २६ बर्षिय आसिस बैगार, वडा नं १० कै २१ बर्षिय विबेक बि.क. र भेरीगंगा ९ बस्ने २४ बर्षिय प्रमोद गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश ००२००१ ख ००६३ नम्बरको फोर्स गाडीलाई छिञ्चु तोलीखोलीस्थित चेक पोइन्टमा प्रहरी सहायक निरीक्षक युबराज ढकालको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई आइतबार राती १० बजे पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागू औषध नाईट्राभेट ८८५ ट्याबलेट पनि बरामद गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय छिञ्चुको हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।