हुम्ला, १८ माघ (रेडियो श्रीनगर) । हुम्लाको अदानचुली गाउँपालिकामा करिब एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ । जसकारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो ।
कहिलेकाहीँ बिहानको सयम एक–दुई घण्टा मात्रै काम गर्ने गरे पनि अन्य समय काम गर्न छोडेकाले सेवाग्राहीले समस्या भोगी रहनुपरेको छ ।
टावरमा खराबी आएर २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।
इन्टरनेट नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकले जनाएको छ । सेवाग्राहीले बैंकमा इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको छ ।
गाउँपालिकामा सञ्चारको माध्यामका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताउनुभयो ।
