कर्णालीमा स्याउ उत्पादन घट्दै

नन्द कठायत ।
सुर्खेत, २५ माघ (जागरण) । कर्णालीमा पछिल्ला केही वर्षयता स्याउ उत्पादन घट्दै गएको पाइएको छ ।
कर्णालीको जुम्ला, हुम्ला र मुगुमा स्याउ उत्पादन हुने गरेको छ । जलवायु परिवर्तन, ढुवानीमा समस्या लगायतका कारण ती क्षेत्रमा स्याउको उत्पादन घट्दै गएको कृषी विज्ञहरुले बताएका छन् ।
हिमाली जिल्ला जम्लामा दुई वर्षयता स्याउको उत्पादन घट्दो क्रममा रहेको पाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष १ प्रतिशत स्याउ उत्पादन घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १ सय ६० मेट्रिक टन स्याउ फलेको हो ।
उहाँका अनुसार यो वर्ष सात हजार ३ सय ६० मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर लक्ष्य पूरा हुन सकेन । गत आर्थिक वर्ष २०७७÷७८ मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष १ प्रतिशत कम उत्पादन भएको हो ।
यस वर्ष चार हजार हजार हेक्टरमा स्याउ लगाइएकामा एक हजार ८ सय ८८ हेक्टरमा स्याउ फलेको अधिकारीले कर्णाली रैबारलाई बताउनुभयो ।
कृषि कार्यालयमा करिब ९ सय ७२ मेट्रिक टन स्याउ निर्यात भएको बताउनुभयो । कर्णालीमा पछिल्लो समय स्याउ लगाइएको जमिन धेरै भएपनि तर उत्पादन भने गत वर्षभन्दा यस वर्ष झन कम उत्पादन भएको छ ।
यस्तै, मुगुमा पनि विगतको तुलनामा स्याउ उत्पादमा कमी आएको छ । मुगुका चारवटै पालिकाहरुमा स्याउ उत्पादन हुने गरेको छ । कृषी विकास कार्यालय मुगुका अनुसार वार्षिक स्याउ उत्पादन तीन हजार ५ सय ८० मेट्रिक टन उत्पादन हुने गरेको छ ।
कार्यालयका सूचना अधिकारी टेक बहादुर खत्रीले स्याउ लगाउने ठाउँको अभाव रहेको बताउनुभयो । उहाँले अहिले कार्यलयमा करिब एक लाख बराबरका विरुवा भएपनि खपत गर्न समस्या रहेको बताउनुभयो ।
यता, हुम्लामा पनि अवस्था उस्तै छ । हिउदमा हिमपात कम हुनु, स्याउ फल्ने बेला कीरा लाग्नु र किसानले नै स्याउका बोटको स्याहार कम गर्न थालेपछि उत्पादनमा कमी आएको हो ।
कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले दुई वर्षयता जिल्लामा स्याउ उत्पादन घटिरहेको बताउनुभयो ।
उहाँले गत वर्ष १९ दशममलव २ हेक्टर जग्गामा लगाएका फल्ने बोटबाट ३५ दशमलव ९ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष त्यो घटेर २५ दशमलव ६ मेट्रिक टनमा सीमित भएको जानकारी दिनुभयो ।
यस वर्ष जिल्लाका सबै गाउँपालिकामा स्याउ उत्पादन घटेको जानकारी दिनुभएको छ ।
लगातार स्याउ उत्पादन कम हुनुमा मुख्यगरी जलवायु परिर्वानसँगै हिउदमा हिउ कम पर्नु, बेमौसमी वर्षा, फूल फुल्ने बेला हावाहुरी, असिना पानी र कीरा लाग्नु मुख्य कारण रहेको कृर्षी कार्यालयहरुले जनाएका छन् ।