म्याद नाघेका सामग्रीहरु नराख्न व्यापारीहरुलाई निर्देशन

सुर्खेत, २८ माघ (जागरण) । बजारमा म्याद नाघेका सामग्रीहरु नराख्न सुर्खेतका व्यापारीहरुलाई निर्देशन दिइएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा आज शुक्रबार सुर्खेतको छिन्चु बजारमा गरिएको संयुक्त अनुगमन टोलीले केही पसलहरुमा म्याद गुज्रेका सामग्री भेटाएपछि त्यस्ता सामग्री विक्रि वितरण नगर्न निर्देशन दिएको हो ।
अनुगमन टोलीले आगामी दिनमा निर्देशन पालना नभए कारवाही हुने समेत बताएको छ । नागरिकहरुलाई समेत म्याद हेरेर मात्र सामान खरिद गर्न आग्रह गरिएको छ ।
छिन्चु बजारका ११ वटा खाद्य, किराना र होटेलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भान्सा सफा नराखिएको नास्ताजन्य परिकारमा रङ राखिएको पाइएको र अब त्यसो भेटिए कारवाही हुने उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
संरक्षण निर्देशनालयसहित जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा नापतौल कार्यालय, इलाका प्रहरी कार्यालय छिन्चु, नेपाल पत्रकार महासंघ सुर्खेत, उद्योग बाणिज्य संघ भेरीगंगाका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेको थियो ।