सुर्खेत, ३ फागुन (जागरण) । विकास र रोजगारी सँगै लैजानेगरी संचालन गरिएको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीमा प्रभावकारी नभएको जनगुनासो बढेको छ ।
यी कार्यक्रमका लागि छुट्याइएको बजेट सही ठाउँमा प्रयोग नगरिएको र रोजगारी दिने नाममा आफ्ना आसेपासेलाई मात्र रोजगारी दिने गरिएको हो ।
संघिय र प्रदेश सरकारहरुले यसलाई ठूलो उपलब्धीको रुपमा लिए पनि कर्णालीका नागरिक भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्देश्य भए पनि बजेटको सही ठाउँमा उपयोग नहुदा यसको प्रभावकारीता सन्तोसजनक नभएको नागरिक मात्र होइन स्थानीय जनप्रतिनिधि समेत बताउछन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै, जुम्लाको तिला गाउँपालिका ३ का स्थानीय कमल प्रसाद भट्राइले रोजगार कार्यक्रमको नाममा आफ्ना नजिकालाई पोस्ने काम बाहेक अरु केही उपलब्धी नभएको गुनासो गर्नुभयो ।
यस्तै, जाजरकोटको जुनिचादे गाउँपालिकाका स्थानीय किरण शाहीले विकासका नाममा रकमको दुरुपयोग भएको बताउनुभयो ।
रोजगार कार्यक्रममा पटक÷पटक एउटै व्याक्तिको नाम दोहोरीने गरेको भन्दै शाहीले त्यहाँको गरिबि र बेरोजगारीको अवस्थालाई प्रथामिकता दिएर छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हाल सामुदायिक स्तरका स–साना टुक्रे काममा उपयोग गरिएको पाइन्छ । कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने बाहेक अरु कुनै पनि काममा रकम खर्च गर्न नसकेको बताइन्छ ।
यता, बजेट कार्यान्वयन गर्ने तल्लो तहको स्थानीय सरकारहरुले पनि प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको प्रतिक्रिया दिएका छन ।
जनप्रतिनिधिहरुले बजेट आर्थिक बर्षको अन्तिममा पठाउँदा कसरी कार्यान्वयन गर्ने भन्दै प्रश्न गरे ।
रुकुम पश्चिमको मुसिकोट नागरपालिका नगरप्रमुख देविलाल गौतमले कार्यक्रमको बजेट समयमा पठाउन आग्रह गर्दै कार्यक्रमलाई भने आफुहरुको तर्फबाट प्रभावकारी ढंगले सञ्चालन गरिरहेको दावी गर्नुभयो ।
बेरोजगार युवाहरुलाई गाउँमै रोजगारी दिनेगरी संचालन गरिएको यो कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुले सुझाव दिदै आएका छन ।