
जागरण
सुर्खेत, ३ फागुन ।
नेकपा (एमाले) वीरेन्द्रनगर–५ वडा कमिटीले मंगलबार एक कार्यक्रमकाबीच वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
कालीका मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा तीन सय बढी जेष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण गरिएको हो । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले जेष्ठ नागरिकहरुलाई फलफूल वितरणसँगै खादा ओडाएर सम्मान गर्नुभएकाे छ । जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्ने तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको सम्झनामा फोटो फ्रेम पनि उपहार दिइएको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि कंडेलले एमाले जेष्ठ नागरिकको सहारा बनिरहेको बताउनुभयाे । एमाले सरकारले सुरु गरेको वृद्धभत्ताले जेष्ठ नागरिकलाई जीवनयापन र औषधि उपचारमा सहज भएको बताउँदै उहाँले आगामी दिनमा पनि सामाजिक सुरक्षाका सवालमा पार्टी गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाउनुभयाे। एमालेका नीति कार्यक्रम जनपक्षीय हुने दाबी गर्दै नेता कंडेलले जेष्ठ नागरिक भत्ताजस्तो लोकप्रिय कार्यक्रमले त्यसको पुष्टि भइसकेको उल्लेख गर्नुभयाे। वडा कमिटी अध्यक्ष वासु आचार्यको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल, जिल्ला कमिटी अध्यक्ष अमृत विसी, एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना, जिल्ला कमिटी सदस्य पूर्णप्रसाद पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


