कर्णाली प्रदेशमा मानवअधिकारको अवस्थामा केही सुधार

सुर्खेत, ८ फागुन (जागरण) । कर्णाली प्रदेशमा मानवअधिकारको अवस्थामा सुधार भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज सार्बजनिक गरेको बर्ष पुस्तक २०२२ मा कर्णालीमा मानवअधिकारको अवस्थामा सुधार भएको देखिएको हो ।
इन्सेकले सन् २०२१ मा संकलन गरेको मानवअधिकार उल्लंघनका घटना बिवरणअनुसार सन् २०२० को तुलनामा घटनामा कमी आएको देखिएको छ ।
सन् २०२१ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ४ सय ३० जना पीडित भएका छन् ।
पीडित भएमध्ये मानवअधिकार उल्लंघनका घटनामा ४ महिला र ३० पुरूषगरी ३४ जना तथा ज्यादतीका घटनामा ३ सय २० महिला र ७६ जना पुरूषगरी ३ सय ९६ जना पीडित भएका छन् ।
सन् २०२० मा मानवअधिकार उलंघनका घटनामा ७ महिला र ५१ पुरूषसहित ५८ जना पीडित भएका थिए भने ज्यादतीका घटनामा ३ सय ३२ महिला र ९४ जना पुरूषसहित ८४ जना पीडित भएका थिए ।
इन्सेकको तथ्यांकका आधारमा कर्णाली प्रदेशको मानवअधिकारमा केही सुधार आए पनि कारागारमा मृत्यु, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी अभिलृख भएको पाइएको छ ।
यस्तै जातीय विभेदका घटनामा समेत खासै सुधार नभएको पाइएको छ । सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु भएको, २० जना महिला र १४ जना पुरूषगरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
यस्तै ८३ जना बालिका र एक जना बालक बाल अधिकारका घटनामा पीडित भएका छन् । घटनामा सबैभन्दा बढी महिलाहरू पीडित भएको देखिएको छ । महिला हिंसाका घटनामा २ सय ५ जना पीडित भएको अभिलेख छ ।
बलात्कारका घटनामा ८०, बलात्कार प्रयासका घटनामा ६ र यौन दुर्व्यवहारका घटनामा २९ जनागरी १ सय १५ जना पीडित भएका छन् ।