मेयरमाथि आक्रमण गरेको भन्दै तीन पक्राउ, चौधरी खतरामुक्त

कैलाली, २९ फागुन (जागरण) । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई गोली हानेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरुसँग सोधपुछ भइरहेको प्रदेश नम्वर ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिनुभयो ।
उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ता रहेका बुझिएको छ ।
यसैबीच चौधरी हाल खतरा मुक्त रहेका डाक्टरले बताएका छन् । मेयर चौधरीको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।
गयराति मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले चौधरीलाई उहाँकै निवासमै गोली प्रहार गरेका थिए ।
घोडाघोडीमा केही दिन पहिले बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्ने दोषीलाई संरक्षण गरेको आरोप मेयर चौधरीमाथि लागेको थियो ।
कुटपिट गर्ने दोषीको संरक्षण गरेको आरोपमा केही दिनअघि चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेयरलाई जनकारवाही गर्ने चेतावनी दिएको थियो ।