सुर्खेत, १० फागुन (जागरण) । खस भाषाको पाठ्यक्रम निर्माण गरी प्रदेशभर लागु गर्नुपर्नेमा जोड दिइएको छ ।
कर्णालीको खस भाषाको संरक्षण र त्यसको दिगो विकास गर्न पाठ्यक्रममा समावेश गरि विद्यालय तहबाट नै अध्यन अध्यापन गराइनुपर्नेमा शिक्षा क्षेत्रका व्यक्तीहरुले सुझाव दिएका हुन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनीहरुले पछिल्लो समय नेपाली भाषाको जग खस भाषा हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पाठ्यक्रममा नै समावेश गरी लागु गरिनुपर्नेमा उनिहरुले जोड दिएका हुन ।
कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ४ मा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक अग्र कठायतले खस भाषाको संरक्षण एवम् विकास हुन आवश्यक रहेका बताउनुभयो ।
उहाँले कर्णालीका धेरै मानिसले बोल्ने खस भाषालाई राज्यले प्राथमिकता नदिदा आयातित भाषाले मातृभाषा ओझेलमा पर्न सक्ने खतरा रहेको बताउनुभयो ।
मध्यपश्चिम विश्व विद्यालय मानविकी तथा समाशास्त्र संकाय अन्र्तगत आम सञ्चार विभागका उप प्रमुख भानुभक्त अधिकारीले पनि खस भाषा विकास तथा जगेर्नामा थुपै्र प्रयास भए पनि कर्णालीमा त्यसले निरन्तरता र प्रयोगमा आउन नपाएको बताउनुभयो ।
उहाँले कर्णालीमा बोलिने खस भाषा प्रदेशका नागरिकले बोल्ने भएकाले प्राथमिक तह देखिनै यसको पठनपाठन हुनुपर्नेमा जोड दिनुभयो ।
यता, केही स्थानीय सरकारहरुले भने खस भाषामा स्थानीय पाठ्यक्रम तयार गरि पठनपाठन सुरु गरेका छन् ।
जुम्लाको तातोपानी गाउँपालिकाले २३ वटा विद्यालयमा खस भाषालाई पाठ्यक्रममा समावेश गरि पठनपाठन सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्ष नवराज न्यौपानेले भन्नुभयो ।
कर्णाली प्रदेश सरकारले भने कर्णाली मैत्री पाठ्यक्रम निर्माण गरेको जनाएको छ । प्रदेश सरकारको पाठ्क्रम अनूसार अहिले पालिकाहरुले पनि स्थानीय पाठ्क्रम निर्माण गर्न थालेको र त्यसमा प्रदेश सकारले आवश्यक सहयोग गर्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमालले बताउनुभयो ।
उहाँका अनूसार स्थानीय रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा स्थानीय तहहरुले पाठ्क्रम निर्माण गर्न सक्ने छन् ।
प्रदेश सरकारले स्थानीय पाठ्यक्रम निर्माणका लागि गत बर्ष ५० लाख रकम विनियोजन गरेको थियो ।
