भोली विहान आठ बजेसम्मका लागि बन्द खोल्ने सहमती

जागरण संवाददाता
सुर्खेत, १४ फागुन ।
विहानदेखि बन्द रहेको सुर्खेतको छिञ्चु बजार र सुर्खेत कोहोलपूर तथा छिञ्चु जाजरकोट सडक खुलेको छ । भेरीगंगा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष नवराज कार्कीको दुर्घटनामा परी मृत्यु भएको बिरोधमा आफन्तले शनिबार विहानैदेखि बन्द गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी र मृतका आफन्तबीच भएको छलफलपछि बन्द खुलाउने सहमती भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । भोली विहान जिल्ला प्रहरी कार्यालयमा छलफल गर्नेगरी अहिले बन्द खुलाउने सहमती भएको तर अन्तिम सहमती नभए भोली विहान आठ बजेदेखि पुन बन्द गर्ने मृतका दाई नरेन्द्र कार्कीले बताउनुभयो ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाअध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्युरो अस्पतालमा मृत्यु भएको थियो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय वडाध्यक्ष कार्की सवार मोटरसाइकललाई छिञ्चुमा फागुन ८ गते गाडीले ठक्कर दिएको थियो । उनलँई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
आफन्त र स्थानीयले दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राखेका छन् ।
प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका यात्रुहरु बाटोमै अलपत्र परेका थिए । बन्द खुलेपछि यात्रुहरुलाई गन्तव्यमा पठाउन सुरु भैसकेको इलाका प्रहरी कार्यालय छिञ्चुका असई युवराज ढकालले जानकारी दिनुभयो ।