प्रतिनिधिसभाको बैठक आज, एमसीसी पारित हाेला ?


जागरण

काठ्माण्डाैँ , १५ फागुन ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । १२ फागुनदेखि सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आज बस्न लागेको हो । संसद सचिवालयले शनिबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूची अनुसार आज अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता (एमसीसी कम्प्याक्ट) माथि छलफल गरिनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले सो सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख छ । तर मन्त्री शर्माले संसद बैठक छल्दै आएका छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिकाे बैठक बोलाएका छन् ।

एमसीसी कम्प्याक्ट अनुमोदनका लागि सत्ता गठबन्धनकै दलमा सहमति जुटेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहयोगका लागि निरन्तर छलफल गरिरहेका छन् । यसअघि दलहरूबीच सहमति नहुँदा यही फागुन १२ र १३ गतेकाे प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

८ फागुनमा एमसीसी कम्प्याक्ट संसदमा टेबल भइसकेको छ । प्राप्त पछिल्ला विवरणहरू अनुसार सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी अनुमाेदनका लागि तत्पर देखिएका छन् । गठबन्धन जाेगाउन एमसीसी अनुमाेदनका लागि तयार हुनुपर्ने स्थिति आएकाे उनीहरूले संकेत दिइरहेका छन् । यी दुवै पार्टीले यथास्थितिमा एमसीसी पास गर्न नसकिने भन्दै विपक्षमा मत दिने निर्णय यसअघि गरेका थिए ।