कर्फ्युपछि वीरेन्द्रनगर सुनसान, २३ जना प्रक्राउ

सुर्खेत, १७ फागुन (जागरण) । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो । प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी आयोजना गरिएका विभिन्न कार्यक्रम स्थगित भएका छन् ।
यहाँका शिव मन्दिरहरु सुनसान बनेका छन् । भिडभाड हुने लाटिकोइलीको शिव मन्दिरमा केही फाटफुट भुक्ताहरुको उपस्थिति रहेको छ ।
वीरेन्द्रगरको मंगलगढी चोक, यरी चोक र वीरेन्द्र चोकको प्रहरी बिट पनि बन्दकर्ताले सोमबार राति तोडफोड गरेका छन् ।
यी चोकका सडकहरु बोतल र ढुगांहरुले भरिएका छन् । हिँड्न समेत मिलिरहेको छैन । बन्दकर्ताहरूले अहिले पनि लुकिछिपी प्रहरीमाथि ढुङ्गा हान्ने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
सोमबार विहान मात्रै वीरेन्द्रनगर–११ स्थित देउती बज्यौ क्षेत्रमा कर्फ्यू आदेशको माइकिङ गर्दै हिँडेका प्रहरीमाथि स्थानीयले ढुंगा हान्दै लखेटेका थिए । ‘नेताहरुले देश बेचिसके, तिमीहरु माइकिङ गर्दै हिँड्ने भन्दै लखेटे’ लखेटिएका एक प्रहरीले भने ।
प्रहरीका अनुसार सोमबार बिहानदेखि अहिलेसम्म प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
जसमध्ये २० जनालाई सोमबार नै पक्राउ गरिएको थियो । यस्तै दुई पक्षबीचको झडपमा हुँदा ७ जना प्रहरी घाइते भएका छन् ।
सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय पनि तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कफ्र्यू लगाउने निर्णय गरेको थियो ।
समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कर्फ्यू जारी गरेका हुन् ।