जागरण संवाददाता
सुर्खेत, २० फागुन ।
वीरेन्द्रनगर ५ की वडा सदस्य शान्ति पहाडीले सुकुम्वासी वस्दै आएको जग्गा आफ्नो नाममा बनाउने चलाखी गरेको पाइएको छ ।
वडा नं. ५ शान्ति लाइन टोलमा विगत २०४३ देखि बस्दै सुकुम्वासी डल्ली सुनार बस्दै आएको जग्गा पहाडीले आफ्नो नाममा बनाउन लागेको भन्दै टोल विकास समितिले विरोध गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोग सुर्खेतले लगत संकलन गर्दा पहाडीले आफ्नो नाममा फारम भरेको भन्दै शान्ति लाइन टोल विकास समितिले ज्ञापन पत्र बुझाएको छ । ‘जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले वास्तविक भूमिहिन जनताको हकभाक गरेको जग्गा खोसी नक्कली भूमिहिन खडा गर्ने, जग्गा हडप्ने जस्ता बदनियत राखी गरिएको षडयन्त्रको शान्ति लाइन टोल विकास संस्था घोर निन्दा एवं भत्सना गर्दछ’ संस्थाका अध्यक्ष लक्षुमण थापाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
टोल विकास संस्थाले उक्त कार्य रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा शुक्रबार ज्ञापन पत्र समेत बुझाएको छ । पहाडी २०७४ काे स्थानीय चुनावमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।