कृष्ण हमाल मृत्यु प्रकरण: किटानी जाहेरीपछि असई धामीलाई हिरासतमा राखेर अनुसन्धान सुरु

जागरण संवाददाता
सुर्खेत, २२ फागुन ।
शनिबार सुर्खेतमा मृत्यु भएका कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ३ का कृष्ण हमालका आफन्तले प्रहरी चौकी सुबाकुनाका इन्चार्ज सहायक प्रहरी निरीक्षक शेरसिंह धामी बिरुद्ध किटानी जाहेरी दिएका छन् ।
मृतकका बुवा हिराचन्द्र हमालले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आइतबार किटानी जाहेरी दिएका हुन् । शुक्रबार नेपालगञ्जबाट फर्किदै गर्दा सुबाकुनास्थित चेकपोष्टमा सई धामीले मरनासन्न हुनेगरी कुटपिट गरेका कारण मृत्यु भएको किटानी जाहेरीमा उल्लेख गरिएको छ । मृतकको शरिरका विभिन्न भाग घाँटी, कोखा, छातीमा चोट लागेको भन्दै धामीको कुटाईबाट छोरीको मृत्यु भएको हमालले जाहेरीमा उल्लेख गरेका छन् ।
किटानी जाहेरी दर्तापछि जिल्ला प्रहरी कार्यालयले धामीलाई हिरातमा राखी अनुसन्धान सुरु गरेको छ । किटानी जाहेरी दर्ता भएपछि अदालतबाट तीन दिनको म्याद लिएर आरोपित धामीमाथी अनुसन्धान सुरु गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
घटनाको छानविन गर्न स्थानीय प्रशासनले शनिबार तीन सदस्यीय समिति पनि गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा रहेको समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
हमालले सामान लिएर आएको मिनि ट्रकलाई कागजपत्र नभएको भन्दै शुक्रबार राती पौने ११ बजे रोकेको थियो । सहचालक तिलक शाहीले गाडी चलाएर ल्याएकाले उनको चालक अनुमती पत्र नभएको भन्दै प्रहरीले गाडी रोकेको थियो । ‘कागजात नभएको विषयमा प्रहरीले आफूलाई गाली गलौज गरेपछि भिनाजु नाता पर्ने हमाल गाडीबाट ओर्लिएर प्रहरीसंग किन गाली गरेको भनेर सोध्न खोज्दा हमाललाई पनि कुटपिट गरेको सहचालक शाहीको भनाइ छ । प्रहरीको कुटपिटपछि शुक्रबार राती गाडीमै सुतेका हमाल र शाहीलाई शनिबार विहान चालक बल बहादुर विसी गएर बजार लिएका थिए । हमालले अप्ठेरो भयो भनेपछि अस्पताल चालकले सिधै एरिचोकस्थित सुर्खेत अस्पतालमा लगेका थिए । विहान सवा दश बजे अस्पताल पु¥याएपनि अस्पताल आउनु अघि नै उनको मृत्यु भएसकेको अस्पतालले जनाएको छ ।