कृष्ण हमाल मृत्यु प्रकरणः परिवार शव बुझ्न सहमत, भोली अन्त्यष्टि गरिने

जागरण संवाददाता
सुर्खेत, २३ फागुन ।
सुर्खेतमा मृत्यु भएका कालिकोट तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको शव बुझ्न परिवार सहमत भएका छन् ।
घटनाको निष्पक्ष छानविन गर्ने तथा परिवारलाई राहत उपलब्ध गराउन पहल गर्ने लिखित सहती भएपछि मृतकका परिवार शव बुझ्न सहमत भएका हुन् । मृतकका परिवारलाई राज्यबाट क्षतिपूर्ति उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालयले अनुरोध गर्ने लिखित सहती भएको छ । स्थानीय प्रशासन र मृतकका परिवारबीच सोमबार सहमती भएपनि पोष्टमार्टम गर्न ढिला भएकाले मंगलबार मात्रै परिवारले शव बुझ्ने भएका छन् । सहमतीका लागि छलफलमा समय वितेकाले भोली (मंगलबार) पोष्टमार्टमपछि शव बुझ्ने मृतकका बुवा हिराचन्द्र हमालले बताए । शवको सुर्खेतमै अन्त्येष्टि गरिने उनले जानकारी दिए ।
हमालल शुक्रबार नेपालगञ्जबाट फर्किदै गर्दा सुर्खेतको सुबाकुनामा प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै परिवारले असई शेरसिंह धामी बिरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले धामीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । घटनाको छानविन गर्न सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई प्रतिवेदन पेश गर्न मंगलबारसम्मको समय तोकिएको छ ।