सुर्खेत, २७ फागुन (जागरण) । सुर्खेत वीमान स्थल धावनमार्ग विस्तारभन्दा दिगो विकल्प खोज्न माग गर्दै गठित नागरिक सरोकार समिति विगठन गरिएको छ ।
विमानस्थल धावन मार्ग विस्तार गर्दा सामुदायिक तथा सार्वजनिक संस्थाहरु तथा जनताहरू विस्थापित भई प्रभावित हुने भन्दै गठित नागरिक सरोकार समिति आज विघठन गरिएको हो ।
अहिले रहेको बिमान स्थल विस्तार गर्दा अमरज्योति माध्यमिक विद्यालय, अमरदीप क्याम्पस, हस्तवीर आधारभूत विद्यालय, विभिन्न निजीविद्यालयहरू,शहरी स्वास्थ्य केन्द्र, मानव सेवा आश्रम, लगायतका सयौंको संख्यामा निजी घरहरु तथा व्यक्तिगत जग्गाहरुसँगै जनताहरू विस्थापित भई प्रभावित हुने भन्दै समितिले बिमान स्थलको अन्य विकल्प खोज्न माग गर्दै आएको थियो ।
समितिले स्थानीय, प्रदेश र केन्द्र सरकारलाई ज्ञापन पत्र बुझाउँदै हालको बिमान स्थल विस्तार गर्दा लाग्ने खर्चले अर्को बिमान स्थल बन्ने भन्दै दिगो योजना बनाएर बैकल्पिक बिमान स्थल खोजी गर्न संघर्ष गरेको थियो ।
विमानस्थल विस्तार गर्न उपयुक्त छ भन्ने आधार नभएकाले स्थानीयबासीलाई सँधै अन्यौलमा राख्न उचित नहुने भन्दै यसका लागि अन्यत्र स्थानमा विमानस्थल निर्माणका लागि विकल्प खोज्ने मुख्यमन्त्री जीवन बहादुर शाहीले सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि समिति बिगठन गरिएको हो ।
प्राविधिक तथा आर्थिक दृष्टिकोणले समेत उपयुक्त नदेखिएको सुर्खेत विमानस्थल विस्तारसम्बन्धी कार्यमा विभिन्न तरिकाले सहयोग पुर्याउनुहुने संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघ संस्था, पत्रकार तथा समाजसेवी व्यक्तित्वहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ । संयोजक टिकाराम आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
२०७७ पौष ९ गते अमरज्योति नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा २१ सदस्यीय सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समिति गठन गरिएको थियो ।
यस्तो छ विज्ञप्ति
सुर्खेत विमानस्थल विस्तार नागरिक सरोकार समिति
प्रेस विज्ञप्ति
सुर्खेत नागरिक उड्डयन कार्यालयको पत्र संख्या २०७७/०७८ चलानी नं. १४१ मिति २०७७ पौष ९ को पत्रमार्फत वीरेन्द्रनगर नगरपालिकाका वडाकार्यालय वडा नं. १० र १२ लाई सम्बोधन गरी सुर्खेत विमानस्थल धावनमार्ग विस्तार सम्बन्धमा वडा नं १० र १२ का जनता र यहाँ अवस्थित अमरज्योति माध्यमिक विद्यालय, अमरदीप क्याम्पस, हस्तवीर आधारभूत विद्यालय, विभिन्न निजीविद्यालयहरू,शहरी स्वास्थ्य केन्द्र, मानव सेवा आश्रम, श्री ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था लि. लगायतका विभिन्न सामुदायिक तथा सार्वजनिक संस्थाहरु सहित सयौंको संख्यामा निजी घरहरु तथा व्यक्तिगत जग्गाहरु हाल प्रस्तावित विस्तारित योजनाअन्र्तगत उत्तरतर्फ ६०० मिटर, दक्षिणतर्फ ४०० मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ २०० मिटरको क्षेत्रफलमा रहेका सम्पूर्ण सामुदायिक तथा सार्वजनिक संस्थाहरु तथा जनताहरू विस्थापित भई प्रभावित हुने भएको र गुरुयोजनाअन्तर्गत पनि उक्त स्थानमा विमानस्थल निर्माण गर्ने कुनै योजना नभई गुरुयोजना विपरित हुने भएकाले मिति २०७७ पौष ९ गते श्री अमरज्योति नमुना माध्यमिक विद्यालयमा जम्मा भएको भेलाले अमरज्योति मावि लगायतका संस्था र जग्गाधनीहरु विस्तापित हुने र भौगोलिक तथा आर्थिक दृष्टिकोणबाट समेत औचित्य हुने नदेखिएको हुँदा विस्तार कार्यलाई स्थगित गरी अन्यत्र विकल्प खोज्न अमरज्योति नमुना माविका विव्यस अध्यक्ष श्री टिकाराम आचार्यज्यूको अध्यक्षतामा २१ सदस्यीय सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समिति गठन गरी उक्त समितिले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सरकारी संघ सस्था, राजनैतिक व्यक्तित्वहरूलाई विमानस्थल विस्तार रोकी अन्यत्र विकल्प खोज्न र पहल गरिदिन ज्ञापनपत्र बुझाउने र विभिन्न छलफल कार्यका लागि निरन्तर रूपमा लागि परेको व्यहोरा सर्बविदितै छ ।मिति २०७८ वैशाख १६ गते तत्कालीन माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्व एवम् मुख्यमन्त्री कार्यालयका सचिव, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुर्खेत नागरिक उड्ययन कार्यालयका प्रमुख, वडा अध्यक्ष लगायत विस्थापित तथा प्रभावित संघसस्था एवम् स्थानीयहरूसँगको सुर्खेत विमानस्थलको कार्यालयमा भएको छलफल कार्यक्रममा प्रभावित तथा विस्थापित संघसंस्था तथा व्यक्तिहरूको व्यवस्थापनका लागि प्रदेश सरकारको तर्फबाट उचित प्याकेजको प्रस्ताव ल्याउने र छलफल गर्ने भनिए तापनि त्यसबारे कुनै पहल भएको देखिएन । सुर्खेत नागरिक उड्ययन कार्यालयको मिति २०७८।११। २० गतेको पत्र संख्या २०७८/०७९ चलानी नं १९० को वीरेन्द्रनगर नगपालिका वडा नं १२ लाई छलफल कार्यक्रममा सहभागी हुने व्यहोराको पत्रअनुसार मिति २०७८ फाल्गुन २२ गते कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, नागरिक उड्ययन कार्यालयका प्रमुख, वीरेन्द्रनगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष लगायत प्रभावित जनता तथा नागरिक सरोकार समितिसँगको उपस्थितिमा भएको उपलब्धिमूलक छलफल कार्यक्रममा स्थानीयले पनि विकल्प खोज्न निरन्तर आग्रह गरिरहेको र प्राविधिक तथा आर्थिक हिसाबले समेत विमानस्थल विस्तार गर्न उपयुक्त छ भन्ने आधार नभएकाले स्थानीयबासीलाई सँधै अन्यौलमा राख्न उचित नहुने र यसका लागि अन्यत्र स्थानमा विमानस्थल निर्माणका लागि विकल्प खोज्ने भनी माननीय मुख्यमन्त्रीज्यूबाट सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकाले अब विमानस्थल विस्तार नहुने कुरामा हामी स्थानीयबासी विश्वस्त छौँ ।
प्राविधिक तथा आर्थिक दृष्टिकोणले समेत उपयुक्त नदेखिएको सुर्खेत विमानस्थल विस्तारसम्बन्धी कार्यमा विभिन्न तरिकाले सहयोग पुर्याउनुहुने संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघ संस्था, पत्रकार तथा समाजसेवी व्यक्तित्वहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
साथै सुर्खेत विमानस्थल विस्तारका लागि अन्यत्र विकल्प खोज्ने तथा हालको स्थानमा विस्तार नहुने भएकाले यससँग सम्बन्धित सुर्खेत विमानस्थल विस्तार नागरिक सरोकार समिति वीरेन्द्रनगर सुर्खेतको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएकाले सो समिति आजकै मितिदेखि विघटन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
मिति २०७८।११।२६ गते विहवार ।
संयोजक
टीकाराम आचार्य