सुर्खेत, २७ फागुन । निर्वाचन नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको लहर चल्न थालेको छ ।
निर्वाचन नजिकिएसँगै ठुला नेताहरु समेत पार्टी परित्याग गर्नेको लहर चल्न थालेको हो । विशेष गरी कर्णाली प्रदेशमा पार्टी परित्याग गर्ने र प्रवेश गर्ने चर्चित नेताहरु पनि छन ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनुभयो ।
उहाले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा दिएको बताउनुभयो ।
पार्टी भित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दापनि सफल हुन नसकेको उहाको भनाई छ ।
उहाले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताउनुभयो ।
यस्तै, जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य लगायतका १० जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई स्वागत गर्नुभएको हो ।
नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका जिल्ला समन्वय समितिका उप–प्रमुख आचार्य झण्डै ३१ वर्षभन्दा लामो समय नेपाली काँग्रेस पार्टीमा रहेर सक्रिय राजनीति गरेका नेता हुनुहुन्छ ।