गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा पार्टीभित्र कुनै निर्णय भएको छैनः महामन्त्री थापा

सुर्खेत, २९ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा कुनै निर्णय आफ्नो पार्टीमा नभएको बताएका छन ।
अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए । तर यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित नरहेको बताए ।
उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यतीबेला तत्कालिन आवश्यकताका आधारमा काँग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो, दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव बनायौँ, तर हामी चुनावमा तालमेल गरेनौँ की एकअर्काबिचमा प्रतिस्पर्धा गरेर चुनाव लड्यौ ।’ उनले थपे, यो पटक पनि चुनावमा तालमेल गरेर जाने की एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल शुरु भएको छ ।’
थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुइवटा मत रहेको भन्दै चैत दोश्रो साताभित्र निर्णय हुने बताए ।
अहिले काँग्रेसले चुनावी अभियान संचालन गरिरहेको भन्दै तल्लो तहको कमिटी र नेताहरुको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले जानकारी गराए ।
शुक्रबार मात्रै सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भने अहिलेको सत्ता गठबन्धन तिनै तहको निर्वाचनसम्म तालमेल गरेर जाने बताएका थिए ।
उनले काँग्रेस पनि गठबन्धन गरेर निर्वाचनमा जान तयार रहेको बताएका थिए । तर त्यसको दुइदिन पछि सुर्खेतमै आएका थापाले पार्टीले गठबन्धन गरेर जाने निर्ण गरि नसकेको बताएका हुन ।

एमसीसीको विषयमा उनले केही दलले दोधारे नीति लिएको बताउँदै भने, एमसीसीका सन्दर्भमा विशेषगरी कम्युनिष्ट भनिएका दलहरुले बाहिर एउटा, भित्र एउटा, सत्तामा रहँदा एउटा, सत्ता बाहिर रहदा अर्को कुरा गरे ।’ यो परियोजना पाँच बर्षको लागि मात्र हो, यो परियोजना कार्यान्वयनमा गइसकेको छ, अब कि यसको पक्षमा हुनेहरु गलत सावित हुनुपर्छ की त विपक्षमा हुनेहरु गलत सावित हुनुपर्छ उनले भने ।’