आधा दर्जन बुद्धका मूर्ति चोरी

डोल्पा, ९ असार (जागरण) । डोल्पामा शे–फोक्सुण्डो तालको किनार रिग्म गाउँको बीचमा रहेको शाङ्खे लामाको गुम्बाबाट आधा दर्जन बुद्धका मूर्ति चोरी भएका छन् ।
गाउँले र गुम्बाका लामाका परिवार पनि यार्सागुम्बा टिप्न पाटन गएको मौकामा सयौं वर्ष पुराना ७ वटा बुद्धका मूर्तिहरु चोरी भएको स्थानीय आङबहादुर लामाले बताउनुभयो ।
चोरी भएकामध्ये एउटा साढे १ फुट अग्लो र अन्य ६ वटा मूर्तिहरु साना कदका भएको लामाको भनाई छ ।
गत बिहीबार मात्र मूर्ति चोरी बारे थाहा पाएको स्थानीय पदमबहादुर बुढाले बताउनुभयो ।
रिग्म गाउँको शाङ्खे लामाको गुम्बाबाट ऐतिहासिक बुद्ध मुर्तिहरु चोरी भएको कुरा अनौपचारिक रुपमा जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रहरी इकाईहरु नभएकाले जानकारी आउन ढिला भए पनि अनुसन्धान सुरु गरिसकिएको छ ।