जाजरकोट, ९ असार (जागरण) । जाजरकोटमा बालविवाहका कारण महिलाहरुमा विभिन्न सामाजिक, आर्थिक तथा मानसिक समस्या बढ्न थालेका छन् ।
बालविवाह हुँदा आत्महत्या, कुटपिट, घर निकाला, खान लाउन नपाउने, पढाइमा बाधा, सम्बन्ध विच्छेद गर्न बाध्य हुनेलगायत घटना ह्वात्तै बढेका हुन् ।
उमेर नपुग्दै बालविवाह गरेका महिला नै न्याय खोज्न अदालत, महिला तथा बालबालिका कार्यालय, न्यायिक समिति, प्रहरीलगायत निकायमा धाउन थालेका छन् ।
१५ वर्षमा विवाह गरेर १९÷२० वर्षको उमेर नपुग्दै दुई सन्तान जन्माउने अनि सम्बन्ध विच्छेदका लागि अदालत पुग्नेको संख्या बढ्दै गएको अदालतका नायब सुब्बा सर्वराज खत्रीले बताउनुभयो ।
कुटपिट, खान, लाउन नपाएको लगायत कारण देखाउँदै सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेको खत्रीले बताउनुभयो ।